कलाकार तथा निर्देशक दीपकराज गिरीले सहकारी ठगी प्रकरणमा कात्तिक ३ गतेदेखि कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई चाँडै बाहिर देख्न चाहेको बताएका छन्।
कास्की प्रहरीको हिरासतमै पुगेर रविलाई भेटेका उनले शुक्रवार सामाजिक सञ्जालमा लेख्दै रविलाई चाँडै बाहिर देख्ने चाहाना पनि व्यक्त गरेका छन्।
‘म थुनामा भेट्न गएँ उहाँलाई। प्रहरीले क्यामरा ढोकामै लियो, त्यसैले भित्रको फोटो खिच्न पाउने कुरै भएन’, उनले भने, ‘मलाई सत्तामा भएका मान्छेसँग खासै भेट्न मन लाग्दैन। त्यसैले उहाँ मन्त्री हुन्जेल भेटघाट भएन मेरो। तर थुनामा चाहिँ भेट्न जान मन लाग्यो र भेटेँ।’
साथीलाई सुखमा नभएर दुःखमा भेट्नुपर्छ भन्ने मान्यताअनरुप आफू भेट्न गएको गिरीले बताएका छन्। ‘उहाँसँगको भेटमा आत्मविश्वासी हुनु हुन्थ्यो। डर, त्रास वा हीनताबोध केही थिएन,’ उनले भनेका छन्।
हिरासतमा रवि भेटेपछि दीपकराज भन्छन्-त्यति ठुलो बदमासी गरे जस्तो लाग्दैन। ‘तपाईँ दोषी हो वा निर्दोषी, त्यो त मैले भन्ने कुरा होइन। तर, धेरै मानिसको विश्वास छ तपाईँ निर्दोष हुनुहुन्छ’, उनले भनेका छन्।
यदि निर्दोष भए रविलाई चाँडै ‘बाहिर भेट्न पाइयोस्’ भन्ने कामना पनि गिरीले गरेका छन्। ‘चुप लाग’ भन्छन् साथीहरू बोल्ने बानी छ के गर्ने ?’ गिरीले भनेका छन्।