यति बेला चोभार सुख्खा बन्दरगाहमा कन्टेनर, ट्रक तथा कार गरेर छ सयभन्दा बढी छन्। पाँच वटा गोदाममध्ये तीन वटा पूर्ण रुपमा भरिएका छन्। दुई वटा आंशिक रुपले भरिएका छन्। अब यसलाई नचलेको भन्न मिल्छ?

व्यावसायिक गतिविधिलाई प्रोत्साहन गर्न भन्दै सङ्घीय राजधानी काठमाडौँको चोभारमा निर्माण गरिएको सुक्खा बन्दरगाहले सेवा आरम्भ गरेको साढे दुई वर्ष पुगेको छ। तथापि, यतिका समय बितिसक्दा पनि चोभार सुख्खा बन्दरगाह पूर्ण क्षमतामा सञ्चालनमा आउन सकेको छैन। काठमाडौँ–तराई फास्ट ट्रयाक पूरा नभएसम्म बन्दरगाह पूर्ण क्षमतामा चल्ने सम्भावना न्यून रहेको सम्बन्धित अधिकारीहरुको भनाइ छ। 

यति बेला चोभार सुख्खा बन्दरगाहले के के सेवा दिइरहेको छ ?

चोभार सुख्खा बन्दरगाहले व्यापार सम्बन्धी सम्पूर्ण सेवा प्रदान गर्छ। चोभारमा कसैले पनि व्यापार सम्बन्धी गाडी सुरक्षित पार्किङ गर्छु भन्यो भने पार्किङको सुविधा दिन्छौँ। ट्रेडसँग सम्बन्धित सामानहरु गोदाममा सुरक्षित राख्छु भन्नेहरुका लागि गोदामको सुविधा दिन्छौ। कसैले प्रशोधन, प्याकेजिङ, लेबलिङ गर्छु भन्यो भने पनि त्यो सुविधा उपलब्ध गराउँछौँ। 

बन्दरगाह सञ्चालनको अवस्था के छ ? 

अहिले नेपालभर आठ वटा बन्दरगाह सञ्चालनमा छन्। त्यस मध्यको चोभार सुख्खा बन्दरगाह पनि एक हो। बन्दरगाहबाट वार्षिक डेढ करोड रुपैयाँ कमाइरहेका छौँ। अहिले सबैभन्दा धेरै कमाउने बन्दरगाह वीरगन्ज हो भने सबैभन्दा कम कमाइरहेको चोभार सुख्खा बन्दरगाहले हो। चोभारको आम्दानीको परिकल्पना काठमाडौँ–तराई द्रुतमार्गसँग गरिएको थियो। तर काठमाडौँ–तराई द्रुतमार्ग निर्माण हुन नसक्दा बन्दरगाहको आम्दानी कम भएको हो। तथापि चोभार अहिले कमाउन सक्ने स्थितिमा पुगेको छ र राज्यलाई कमाएर दिन सक्नु नै सफलता हो। 

सुख्खा बन्दरगाहको अवस्थालाई सफलता भनिरहनु भएको छ। तर आयात निर्यातको अवस्था चाहिँ कस्तो छ ? 

हिजोआज प्रतिदिन जाँच पासको लागि चोभार सुख्खा बन्दरगाहमा दुई वटा कन्टेनर आउँछन्। निर्यात चाहिँ बन्दरगाह सुरु भएदेखि जम्मा ६ वटा कन्टेनर पठाएका छौँ। बन्दरगाहलाई अलिक भिन्न तरिकारले सञ्चालन व्यवस्थापन गरिरहेका छौँ। अरू सात वटा भन्सार जाँच पासको मात्रै काम भइरहेको छ भने बन्दरगाहमा भन्सार जाँच पाससँगै लजिस्टिक हबको कन्सेप्टमा चलाइरहेका छौँ। यसमा दुई थरीको बिजनेस छ। एउटा भनेको भन्सार जाँच पास र अर्को भनेको व्यापार–टे«ड सम्बन्धीको क्रियाकलापको लागि आधा भाग छुट्टाएका छौँ। आजको दिनमा भन्सार जाँच पासको लागि एकदमै कम सवारी साधन तथा कन्टेनर आएको अवस्था छ भने लजिस्टिक हबमा एकदमै राम्रो व्यापार भइरहेको छ। दुइटा गोदाम अपुग भएकाले अर्को एउटा गोदाम थपिसकेको छौँ। साना अरू दुइटा गोदामहरु थप निर्माण गरिसकेका छौँ। त्यहाँ अत्याधिक माग छ। जसले बन्दरगाहलाई चलायमान बनाउन सकेका छौँ। 

लजिस्टिक हबको अवधारणा र उद्देश्य चाहिँ कस्तो हो ?

लजिस्टिक हब विश्व बजारमा प्रख्यात छ। त्यसलाई हामीले पनि चोभारबाट सुरुवात गरेका हौँ। यो सफल पनि भयो। अहिले चोभारको मुख्य व्यापार भनेको लजिस्टिक हब नै हो। चीन र भारतको नाकाबाट आएका विद्युतीय सवारी साधनहरुको व्यवस्थापन भइरहेको छ। जसका कारण गोदाममा सामनहरु भरिभराउ भएको छ। त्यसैगरी, यहाँ कसैले प्रोसेसिङ, प्याकेजिङ, लेबलिङ गर्छु भन्यो भने त्यो सुविधा पनि दिइरहेका छौँ। यस्तो सुविधा लजिस्टिक हबकै अवधारणा र उद्देश्य अनुरूप हो। सहज रुपमा व्यापारलाई सहजीकरण गरेर बन्दरगाहलाई चलायमान बनाइरहेका छौँ। राज्यलाई कमाउने ठाउँमा पुर्‍याइरहेका छौँ। 

आम्दानीको अवस्था चाहिँ कस्तो छ ? 

पाँच वर्षका लागि निजी क्षेत्रलाई न्यूनतम तीन करोड रुपैयाँ छ। हामीले दिएको थ्रेसहोल्ड बराबरको गाडीहरु नआउँदा पनि निजी क्षेत्रले पाँच वर्षसम्मका लागि वार्षिक तीन करोड रुपैयाँ दिनुहुन्छ। र तोकेको थे्रसहोल्ड कटेको खण्डमा रेभिन्यू बाँडफाँट हुन्छ। ६० प्रतिशत निजी क्षेत्रको हुन्छ भने ४० प्रतिशत सरकारको हुन्छ। तर अहिले ट्राफिक फ्लो धेरै छ। पाँच वर्षमा आठदेखि दश करोड रुपैयाँ चोभार सुख्खा बन्दरगाहबाट आम्दानी गर्न सक्छौँ। त्यसमा हाम्रो एक रुपैयाँ पनि खर्च हुँदैन। 

निजी क्षेत्रलाई सञ्चालनको जिम्मेवारी दिइसकेपछिको अवस्थालाई कसरी हेरिरहनुभएको छ ? 

अहिले आठ वटै सुख्खा बन्दरगाह निजी क्षेत्रलाई चलाउन दिइएको छ। नियमावली अनुसार पनि प्रतिस्पर्धात्मक प्रणालीबाट छनोट गरेर सुख्खा बन्दरगाहहरु सञ्चालन व्यवस्थापन गर्ने गरिएको छ। कन्ट्रयाक्ट म्यानेजमेन्ट तथा नियमावलीसँग काम गर्ने भनेर प्रष्ट रुपमा भनिएको छ। युरोपियन देशहरुसँगै, भारतलगायतका बाह्य देशको अभ्यास हेर्ने हो भनेपनि सुख्खा बन्दरगाहहरु निजी क्षेत्रहरुमार्फत पीपीमार्फत सञ्चालन, व्यवस्थापन भइरहेको छ। यो सफल पनि भइरहेको छ। निजी क्षेत्रको संलग्नताले सेवा स्तर पनि वृद्धि भएको छ। नेपाल सरकारलाई प्राप्त हुने राजस्व पनि बढिरहेको छ। 

चोभार सुख्खा बन्दरगाहकै कुरा गर्ने हो भने पनि राज्यबाट नेपाल ईन्टरमोडल यातायात विकास समितिमार्फत दुई वर्ष चलायौँ। त्यति बेला एकदमै कम बिजनेस थियो। मासिक १६ लाख रुपैयाँमा घाटामा थियौँ। आज निजी क्षेत्र आइसकेपछि निजी क्षेत्रको विज्ञताले गर्दा यहाँको व्यवसाय वृद्धि भएको छ। बन्दरगाह सञ्चालनको अवस्थामा रहनुको प्रमुख कारण आजको दिनमा निजी क्षेत्रबाट सञ्चालनमा रहनु नै हो। यदि सरकारमार्फत नै सुख्खा बन्दरगाह सञ्चालन भएको थियो भने आजको जस्तो चलायमान हुने थिएन। 

सरकारमार्फत सञ्चालन भएको भए बन्दरगाह चलायमान हुने थिएन भन्नुभयो। यसका कारणहरु चाहिँ के हुन् ?     

सरकारको निर्णय गर्ने प्रक्रिया एकदमै लामो छ। निजी क्षेत्र नाफाको लागि जति दौडधुप गरिरहेको हुन्छ त्यतिको दौडधुप सरकारका कर्मचारीले गर्दैनन्। यो कुरा हामीले प्रष्ट बोल्नु पर्छ। लुकाउनु हुँदैन। निजी क्षेत्रले तुरुन्त निर्णय गर्छ। कसैलाई छुट नै दिनुपर्ने हो भने पनि तुरुन्त नै दिन्छ। राज्यको निर्णय प्रक्रिया यस्तो छैन। राज्यले छुट दिनुपर्‍यो भने भएका प्रक्रिया पूरा गर्दागर्दै आउने बिजनेस अन्तै डाइभर्ट भइसक्छ। 

त्यसो भए चोभार सुख्खा बन्दरगाह पूर्ण क्षमतामा सञ्चालन हुनमा के ले रोकिरहेको छ ?

चोभार सुख्खा बन्दरगाहलाई दुई भागमा छुट्टाएका छौँ। आधा भागमा भन्सारका जाँच पासका काम गर्छौ भने आधा भागमा लजिस्टिक हबको काम गर्छौँ। लजिस्टिक हबमा व्यापार सम्बन्धी सबै काम गरिन्छ। लजिस्टिक हबलाई ठाउँ अपुग नै भइसकेको अवस्था छ। तर, फेरि भन्सारमा सवारी आगमन अझ कम नै छ। त्यसको कारण भनेको फास्ट ट्रयाक नबनेर हो। अहिलेसम्म भारतको नाकाबाट मात्रै भन्सार जाँच पास गरेर आयात गरिने गरिएको थियो तर अर्थ मन्त्रालयको भन्सार विभागमार्फत चीनको तातोपानी र रसुवा नाकाबाट पनि सिधै चोभार सुख्खा बन्दरगाहमा सामान ल्याउँछु भन्नेहरुलाई पनि त्यो सुविधा लागु भइसकेको छ। यसले गर्दा भन्सारतर्फ पनि ट्राफिक बढ्छ भन्ने अनुमान छ। बन्दरगाहमा भन्सार जाँच पास गराउने सुविधा छ। 

भारतकै नाकाबाट आउने सामानहरु चोभारसम्म चाहिँ किन आई पुग्दैनन् ?

चोभार व्यवसायीहरुका लागि विकल्प हो। चोभार सुख्खा बन्दरगाह अनिवार्य छिर्नु पर्दैन। किनभने मानिसहरुका लागि वीरगंज सुख्खा बन्दरगाह, विराटनगर सुख्खा बन्दरगाह, भैरहवा सुख्खा बन्दरगाह ठिक हुन्छ भने उहाँहरुले त्यहीँबाट गर्नुहुन्छ। त्यहाँ असहज हुन्छ भने चोभार आउनुहुन्छ। त्यसैले चोभार सुख्खा बन्दरगाहमा भन्सार जाँच पास भएन भनेर ठुलो ईस्यू बनाउन जरुरी छैन। भन्सार जाँच पास जहाँ भएन भने आइपुग्ने भनेको सरकारसँगै नै हो। 

चोभार सुख्खा बन्दरगाहको सम्पूर्ण पूर्वाधारहरुको प्रयोग भइरहेको छ त ?

छन्। अहिले कन्टेनर, ट्रक तथा कार गरेर छ सयभन्दा बढी चोभार सुख्खा बन्दरगाहमा छन्। पाँच वटा गोदाममा तीन वटा पूर्ण रुपमा भरिएका छन्। दुई वटा आंशिक रुपले भरिएका छन्। अब यसलाई नचलेको भन्न मिल्छ त ? भोलिको दिनमा फास्ट ट्रयाक सम्पन्न भइसक्दा बन्दरगाहको क्षमताले भ्याउँदैन। अहिले त्यसको तयारीतिर लागेका छौँ।

यो कुरा मैँले मन्त्रालयमा मन्त्रीज्यू, सचिवज्यूसँग छलफल गरिसकेको छु। यहाँ हिमाल सिमेन्टको सात सय रोपनी जग्गा छ। त्यसमा तीन सय रोपनी जग्गा चोभार सुख्खा बन्दरगाहलाई नयाँ संरचना बनाउनका लागि एलोकेट गरिदिन पर्‍यो भनेर प्रस्ताव राखिसकेको छु। यसमा मन्त्रीज्यूहरु सकारात्मक नै हुनुहुन्छ। बन्दरगाहको सात सय रोपनी जग्गामा प्रदर्शनी स्थल बन्दै छ। त्यो प्रदर्शनी स्थलका लाग जति बेला जग्गा छुट्याईन्छ त्यति बेला नै बन्दरगाहका लागि पनि जग्गा छुट्याईन्छ।