ड्रागन बोर्ड रेस प्रतियोगिताको दोस्रो संस्करण पोखराको फेवातालमा महोत्सवका रूपमा सञ्चालन हुन गइरहेको छ। 

काठमाडौँमा पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिताको दोस्रो संस्करण यही पौष १३ देखि १५ (डिसेम्बर २८–३०) सम्म हुन लागेको जानकारी गराएको हो। 

गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका, नेपाल स्थित चिनियाँ दूतावास र नेपाल पर्यटन बोर्डको आयोजना तथा नेपाल ड्रागन बोट एसोसिएसन, पोखरा पर्यटन परिषद् र पोखरा ओभरसित चाइनिज एसोसिएसनको सह आयोजनामा हुन लागेको यस प्रतियोगितामा नेपालका ११, मित्रराष्ट्र चीनका ८ र मित्रराष्ट्र सिङ्गापुरको १ गरी कुल २० समूहको सहभागिता रहनेछ।

मित्र राष्ट्र चीनमा अत्यन्त लोकप्रिय रहेको ऐतिहासिक ड्रागन बोर्ड रेस प्रतियोगिता गत वर्ष देखि औपचारिक प्रतियोगिताका रूपमा पोखराको फेवा र वेगनासतालमा सञ्चालन गरिँदै आइरहेको छ। दर्जनौँ राष्ट्रिय र अन्तर्राष्ट्रिय समूहहरूले सहभागिता जनाउने यस प्रतियोगिता पोखरामा पनि लोकप्रिय बन्दै गइरहेको छ।

प्रतियोगिताले नेपाल चिन दुईपक्षिय सम्बन्धमा नयाँ आयाम थप्ने, पोखरामा वाटर स्पोर्टसका नयाँ सम्भावनाहरूको खोजीमा सहयोग गर्ने, पोखराका तालहरूलाई आकर्षणको केन्द्रका रूपमा विकास गर्ने, पोखरा र आसपासको पर्यटन विकासमा टेवा पुराउन महत्त्वपूर्ण सहयोग पुग्ने विश्वास गरिएको छ।

पोखरामा हिमाल, ताल तलैया, गुफा, मठ मन्दिर सँगै सयौँ भाषा, कला र सांस्कृतिक विविधताले पोखरा सुशोभित छ। पछिल्लो समय पोखरा ड्रागन बोट रेस प्रतियोगिता, प्याराग्लाइडिङ, बन्जी, जिप फ्लायर, हट एयर बेलुन, स्काई डाइभिङ लगायतका साहसिक तथा मनोरञ्जनपूर्ण खेलहरूले आन्तरिक तथा बाह्य पर्यटकहरूको आकर्षण बढाइरहेका छन्। पोखरा लगायत समग्र गण्डकी प्रदेशको आर्थिक समृद्धि, स्वरोजगार तथा आत्मनिर्भरताका लागि पोखराको पर्यटनलाई योजनाबद्ध रूपमा अगाडि बढाउन जरुरी छ।