मोरङको पथरी शनिश्चरे–९ स्थित गुम्बाटोलबाट अनलाइन जुवा खेलाउने दुईजनालाई प्रहरीले नियन्त्रणमा लिइएको छ।

रामप्रसाद खरेलको घरमा सट्टाबाजी सम्बन्धी गतिविधि अनलाइन जुवा खेलाउने गरेको सूचनाका आधारमा प्रहरीले छापा हानेर खरेका छोरा शान्तिराम खरेर र टंकबहादुर थापालाई नियन्त्रणमा लिइएको हो।

मोरङका प्रहरी नायव उपरीक्षक एवं प्रवक्ता बेदप्रकाश जोशीका अनुसार उनीहरुलाई इलाका प्रहरी कार्यालय पथरीको टोलिले नियन्त्रणमा लिएर अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान सुरु गरिएको छ। उनीहरुले विद्युतीय उपकरणमार्फत क्यासएपका विभिन्न पोर्टलहरुबाट सट्टाबाजी गराउँदै आएको आरोप छ। प्रहरीले रितपूर्वक छापा हान्दा उनीहरुले चलाउँदै आएको ल्यापटपमा जेनिफर जेनिहव नामको फेसबुक आईडी लगइन नै भेटिएको थियो।

जसबाट उनीहरुले विदेशी मूलका नागरिकलाई क्यासएपका प्रचलित अनलाइन पोर्टलहरु ओरियन स्टार, फायर किरिङ्ग, जुवा, गेम भायल्ट, पाण्डा मास्टर, क्यासिनो इग्निटी, अल्ट्रा पाण्डाको प्रचारप्रसार गरेर खेल्न आवश्यक पर्ने एकाउन्ट तयार गर्ने गरेको खुलेको छ।

एजेन्टको रुपमा रहेका उनीहरुले एकाउन्ट र पासवर्ड उपलब्ध गराएर सट्टाबाजीको प्लेटफर्म तयार गर्ने गरेको खुलेको छ। प्रहरीले आईडी जेनिफर जेनिहवमा जोडिएर विभिन्न गतिविधि गरेको देखिएपछि अनुसन्धानको प्रक्रिया सुरु गरेको हो।