नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शान्ति प्रक्रिया पूरा गर्न राष्ट्रिय सहमति आवश्यक रहेको बताएका छन्।
एकीकृत अखिल नेपाल शिक्षक सङ्गठन र नेपाल शिक्षक समाजबीच एकता घोषणा समारोह तथा प्रथम राष्ट्रिय परिषद् बैठकलाई सम्बोधन गर्दै यस्तो धारणा राखेका हुन्।
उनले विगतमा शान्ति प्रक्रिया बहुमतबाट टुङ्गोमा पुर्याउन दायाँ र बायाँ कोणबाट प्रस्ताव आए पनि आफूले सहमतिमै जोड दिएका कारण केही ढिलो गरी भए पनि यो राष्ट्रिय सहमतिबाट पूरा हुने बताए।
एकथरि शक्तिमा माओवादी र कांग्रेसको मात्रै समस्या हो जस्तो देखाउने प्रवृत्ति देखिएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले यसलाई राष्ट्रिय सहमतिबाटै टुङ्गोमा पुर्याउनुपर्ने र त्यो अन्तिम चरणमा पुगेको बताए।
एकता प्रक्रियामा जोडिएका शिक्षकहरुलाई स्वागत गर्दै उनले यसले वृहत् एकता र ध्रुवीकरणको बाटो फराकिलो बनाउने बताए। आज मात्रै तीन बामपन्थी दलसित एकता वार्ता भएको जानकारी दिँदै उनले अब एकताको विकल्प नभएकोमा धेरैको साझा निष्कर्ष बन्न थालेको बताए।
नेपालको राजनीति आन्दोलनमा जागरण पैदा गर्न शिक्षकहरुको ऐतिहासिक भूमिका रहँदै आएको बताए। अहिलेसम्म सरकारको नेतृत्व गर्ने धेरै नेताहरु शिक्षक पृष्ठभूमिका धेरै भए पनि शैक्षिक सुधारमा अपेक्षित परिणाम नदेखिनु दुःखद रहेको उनले बताए।
आफू प्रधानमन्त्री भएको बेला निकै जोडिबल गरेर शिक्षा विधेयक संसदमा पुर्याएको उल्लेख गर्दै उनले यसलाई पारित गराउन फेरि एक पटक जोड दिनुपर्ने पनि बताए।
अध्यक्ष प्रचण्डले विधेयक अझै पूर्ण नभएको र शिक्षक आन्दोलनका माग समेटेर संशोधित विधेयक संसद्को आउँदो अधिवेशनबाट पारित गर्नुपर्ने बताए। त्यसका लागि शिक्षकहरुले पुनः आन्दोलन गर्ने चेतावनी दिनु सही नै हुने उनले बताए। यो विधेयक पारित गराउन आफूले प्रमुख प्रतिपक्षी दलको तर्फबाट पूरै जोड लगाउने उल्लेख गर्दै उनले सदनको बहससँगै सडकको आवाज पनि उत्तिकै आवश्यक रहेको बताए।