मानव अधिकार आयोग र नागरिक समाजका संघसस्थाहरुको संयुक्त सहकार्यमा हुन लागेको १६ औँ मानव अधिकार राष्ट्रिय महाभेला २०८१ को तयारी सम्पन्न भएको छ। 
शनिवार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै ७६ औँ विश्व मानव अधिकार दिवसको सन्दर्भमा आयोजना हुन लागेको महाभेलाको तयारी सम्पन्न भएको जानकारी गराएका हुन्। 
२०८१ मङ्सिर २३ गते दिनको २ बजे ललितपुर जावलाखेन स्थित नेपाल प्रशिक्षण प्रतिष्ठान (स्टाफ कलेज) मा विशेष कार्यक्रमकाबीच राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालबाट मानवअधिकार राष्ट्रिय महामेलाको उद्घाटन हुने तय भएको छ। 
‘सामाजिक, आर्थिक तथा वातावरणीय न्यायको आधार: सीमान्तकृत समुदायको मानवअधिकार’ भन्ने मूल नाराका साथ मनाउन लागिएको महाभेला मङ्सिर २३ देखि २९ गतेसम्म सञ्चालन हुनेछ। 
यस अवसरमा केन्द्रीय राजधानी काठमाडौँसहित सातै प्रदेश, जिल्ला तथा स्थानीय स्तरमा विभिन्न कार्यक्रम आयोजना हुदैँछन्।
मानवअधिकारको विश्वव्यापी अवधारणा तथा त्यसको फाइदा सीमान्तकृत समुदायले नपाइरहेको अवस्थामा यस महाभेलामा विभिन्न सवालहरुमा ७ दिनसम्म बहस, छलफल, सचेतनामूलक प्रदर्शन, प्रभात फेरी जस्ता कार्यक्रम आयोजना गरिने तथा र यस कार्यक्रम मार्फत मानवअधिकार प्रति जिम्मेवार र जबाफदेही हुन सरकार निजी क्षेत्रलाई दबाब सिर्जना गर्ने जनाइएको छ। 
त्यस्तै, पछिल्लो समय विश्वमा बढ्दै गएको हिंसा, आतङ्क र प्राकृतिक स्रोत तथा वातावरणमाथि दोहन गरी समुदायको जीविकोपार्जनको अधिकारका सवालहरु प्राथमिकतापूर्वक उठिन हुनेछन्। यस महाभेलाको क्रममा मानवअधिकारप्रति राजनीतिक पार्टीको प्रतिबद्धता एवं विभिन्न सरकारी निकायको जबाफदेहिता खोज्न संवादहरू हुने, मानवअधिकारको निगरानी गरिने, काठमाडौँ लगायत सात वटै प्रदेशहरुमा विभिन्न कार्यक्रमहरु आयोजना गरिने तयारी भएको छ।
करिब २ सय सङ्घसंस्था, मानवअधिकार रक्षक, राष्ट्रिय मानवअधिकार आयोग लगायतका निकायको प्रत्यक्ष सहभागितामा हुने यस महाभेलाले वर्ष भरी नै सीमान्तकृत समुदायको मानवअधिकारको सुनिश्चितताको लागि पैरवी समेत गरिनेछ।