जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० राजनीतिक रुपमा पतनको बाटोमा रहेको बताएका छन्।
सहकारी संस्थाको रकम दुरुपयोग अभियोगमा पार्टीका सभापति रवि लामिछाने पक्राउ परेपछि सो पार्टीका नेता र कार्यकर्ताहरुको गतिविधिप्रति लक्षित गर्दै उनले उक्त टिप्पणी गरेका हुन्।
बस्नेतले भने, ‘सहकारी रकम अपचलन गरेको भन्दै अहिलेसम्म पाँच वटा जिल्ला अदालतले रविलाई पक्राउ पुर्जी जारी गरिसकेको अवस्था छ। पार्टीका सांसद र नेतालाई अदालतको मानहानिको मुद्दा लागेको छ। यस्तो अवस्थामा आत्मसमीक्षा, आत्मालोचना र स्वीकारोक्तिबाट अगाडि बढ्नुको सट्टा रवि छोडो आन्दोलनको नाममा यिनीहरुको रमिता छ।’ कार्यकर्ताहरुको उक्साहट र हौसला यस्तो छ कि मानौँ रास्वपाले देशमा ठुलो राजनीतिक परिवर्तनको नेतृत्व गर्दै छ, उनले कटाक्ष गरेका छन्। रास्वपाको राजनीतिक स्खलनको सुरुवात यहीँबाट हुन लागेको देखिन्छ, स्खलनको गति तीव्र छ, उनले भने।
करिब ७४ लाख सहकारी बचतकर्ताको लगभग २ खरब रकम हिनामिना भएको भन्दै एउटा राजनीतिक दलको रुपमा पीडितहरुको पक्षमा बहस, पैरवी गर्नुपर्नेमा पीडककै पक्षपोषण र संरक्षणमा उत्रिने रास्वपाको हर्कत राजनीतिक हुनै नसक्ने उनको ठम्याइ छ।
सहकारी बचतकर्ताहरुको उठीबास लगाउने पीडकको जात, धर्म वा पार्टी नहुने भन्दै यस विषयमा निष्पक्ष रुपमा छानबिन गरी दोषीमाथि कडा कारबाही र पीडितलाई शीघ्र न्याय दिनुपर्ने उनको माग रहेको छ।
काङ्ग्रेस कम्युनिष्टको विकल्प मुलुकलाई चाहिएको छ तर काङ्ग्रेस कम्युनिष्टभन्दा हामी कम खराब हौँ भनी घोषणा र दाबी गर्नेहरुबाट होइन। प्रमुख बस्नेतले भने, ‘अबको राजनीतिको नेतृत्व समाजवादी विचार र दृष्टिकोणले गर्छ।’