विराटनगरको ‘रेड स्टार’ गीत गजलका सञ्चालक मृत अवस्थामा फेला परेका छन्।

सञ्चालक विराटनगर–१२ का ३८ वर्षीय भीम राई मृत फेला परेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले बताए। उनी विराटनगर महानगरपालिका–१० सोमबारेमा रहेको ‘रेड स्टार’ गीत गजलका सञ्चालक हुन्। 

जोशीका अनुसार शुक्रबार राति गीत गजलमै सुतेका राई शनिबार बिहान ८ः३० बजेतिर अचेत अवस्थामा भेटिएका थिए। बेहोस अवस्थामा फेला पारेर गीत गजलकै कर्मचारीले उपचारका लागि विराटनगरको कोशी अस्पताल पुर्याएको प्रहरीले जनाएको छ।

अस्पताल पुर्याउनसाथ बिहान ९ बजेतिर चिकित्सकले मृत घोषित गरिदिएको जोशीले बताए। शवलाई पोस्टमार्टमका लागि कोशी अस्पतालमै राखिएको छ। घटनाका बारेमा थप अनुसन्धान गर्नका लागि वडा प्रहरी कार्यालय विराटनगरबाट इन्स्पेक्टर राजेश दत्त नेतृत्वको टोली परिचालन गरिएको थियो। प्रारम्भिक अनुसन्धानबाट घटना शंकास्पद नदेखिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार राईलाई उच्च रक्तचाप र मधुमेहको पुरानै समस्या रहेको पत्ता लागेको छ। घटनाको थप अनुसन्धान सुरु गरिएको जानकारी डीएसपी जोशीले दिए।