पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का डा. बाबुराम भट्टराईले राजनीतिक प्रतिशोध साँधेर राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पक्राउ गरिएको आरोप लगाएका छन्। शुक्रबार पोखरास्थित कारागारमा सभापति लामिछानेलाई भेट्न पुगेका उनले सञ्चारकर्मीहरूसँग यस्तो प्रतिक्रिया दिएका हुन्।
पूर्वप्रधानमन्त्री भट्टराईले आफूहरूले नयाँ शक्तिको अभियान सुरु गरेपछि नयाँ राजनीतिक शक्तिहरूको उदय भइरहेको र नयाँ शक्तिकै सशक्त धारको प्रतिनिधित्व गर्ने व्यक्तिको रूपमा रविलाई चिनेको बताए। उनले सभापति लामिछानेलाई अस्वभाविक रूपमा दुःख दिने काम भइरहेको र यो अन्यायपूर्ण रहेको बताए। सहकारी सम्बन्धी समस्या सरकारमा रहने तीन ठुला राजनीतिक दलहरूकै वरपर रहेको र पालैपालो सहकारीको रकम अपचलन गरिरहेको आरोप उनले लगाए। उनले सहकारी पीडितलाई न्याय दिनुपर्ने बताए।
भेटका क्रममा लामिछानेले आफूलाई राजनीतिक प्रतिशोध लिएर समातिएको बताएको पनि पूर्वप्रधानमन्त्री भट्टराईले जानकारी दिए। उनले भने, ‘सहकारी सम्बन्धी समस्या छ त्यसको जरो धेरै फैलिएको छ। सत्तामा अहिलेसम्म जोजो बसिरहेका छन् पालैपालो मुख्य तीन दलका तीन नेताहरूकै वरिपरि बढी अपचलन भइरहेको छ। पचासौँ लाख साना बचत कर्ताहरू मर्कामा परेका छन्। तिनको समस्या समाधान हुनुपर्छ।’
पूर्वप्रधानमन्त्री भट्टराईले सहकारी पीडितको समस्यालाई विषयान्तर गर्न खोजिएको आरोप लगाए।