टिकटकले ब्युटी फिल्टरको प्रयोगमा प्रतिबन्ध लगाउने भएको छ। आउँदो सातादेखि १८ वर्षभन्दा कम उमेरकाले आँखा तथा ओठ ठूलो बनाउने र छालाको टोन परिवर्तन गर्ने फिल्टर प्रयोग गर्न नपाउने भएका हुन्।
वास्तविकताभन्दा फरक स्वरुप देखाउने फिल्टरहरूले किशोरकिशोरीहरू आफ्नो शरीर एवं अनुहारलाई लिएर असन्तुष्ट हुने र मानसिक स्वास्थ्य बिग्रिने समस्या बढेसँगै टिकटकले यस्तो कदम चालेको हो।
प्रतिबन्ध वास्तविक उमेर राख्नेहरूको हकमा लागु हुने जनाइएको छ। तर, धेरैले आफ्नो नक्कली उमेर राख्ने हुँदा सबैमा लागु हुन नसक्ने ठानिएको छ।
टिकटक एवं अन्य सामाजिक सञ्जालमा उपलब्ध राम्रो देखाउने फिल्टरहरूले खासगरी केटीहरूलाई आफ्नो शारीरिक बनावटलाई लिएर नकारात्मक भावना उत्पन्न गराइरहेको भन्दै विश्वभर चिन्ता बढ्दो छ।