परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा चीन प्रस्थान गरेकी छन्। आज (बिहीबार) मध्याह्न उनी सिचुआन एयरलाइन्सको जहाजबाट चीनको छेन्दुङ प्रस्थान गरेकी हुन्।
चिनियाँ विदेशमन्त्री वाङ यीको मैत्रीपूर्ण निमन्त्रणामा उनी चीन गएकी हुन्।
उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र मन्त्रालयका कायममुकायम सचिव अमृतबहादुर राई र मन्त्रालयका अधिकारीहरूले बिदाइ गरेका थिए।
भ्रमणका क्रममा परराष्ट्रमन्त्री डा.राणाले मङ्सिर १४ गते चिनियाँ समकक्षीसँग द्विपक्षीय वार्ता गर्ने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ।
भेटवार्तामा उनीहरूले प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीनको औपचारिक भ्रमणको तयारीलगायत दुई देशबीचको आपसी हितका विविध विषयमा छलफल गर्नेछन्।
परराष्ट्रमन्त्री डा.राणा मङ्सिर १५ गते स्वदेश फर्कनेछिन्।
आगामी मंसिर १७ गते प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमणमा जाँदैछन्। उनी प्रधानमन्त्री ओलीको भ्रमण दलमा पनि सहभागी हुनेछिन्।