कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारीले पदबाट राजिनामा दिएका छन् । मन्त्रिपरिषद्‌बाट स्वीकृत नगरी जापान भ्रमणमा गएको विषय विवादमा परेपछि राजीनामा दिनु परेको हो ।

मन्त्री स्तरको भ्रमणको क्रममा सामान्य कूटनैतिक मर्यादाको पनि पालना नभएको भन्दै प्रश्न उठेको छ । गत कार्तिक १३ गते जापान प्रस्थान गरेका उनी टोकियो महानगरले आयोजनामा भएको कार्यक्रममा सहभागी भएका थिए । १७ गते नेपाल फर्किएका उनले आज मुख्यमन्त्री हिक्मत कुमार कार्की समक्ष राजीनामा बुझाएका छन् ।

अधिकारीले मुख्यमन्त्री हिक्मतकुमार कार्की समक्ष राजीनामा बुझाएको जानकारी दिएका छन् । उनलाई राजीनामा दिन मुख्यमन्त्री हिक्मत कार्कीले निर्देशन दिएका थिए । 

मन्त्रालयका पत्रकार सम्मेलनको आयोजना गर्दै उनले विगतमा आफूले गरेका कामको प्रगति विवरण सार्वजनिक गरे । जापानको कार्यक्रममा सहभागी नभएको जानकारी गराउँदै उनले नैतिकताको आधारमा राजीनामा दिएको बताए । लाइसेन्स वितरणमा सहजता पुर्‍याएको देखि विपद् व्यवस्थापनमा आफूले उच्च सतर्कताका साथ काम गरेको प्रस्ट पारे ।