नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले तिहारमा लोडसेडिङ नहुने बताएका छन्। उनले धेरैभन्दा धेरै विद्युत् खपत गर्न आग्रह गरेका छन्। 

कार्यकारी निर्देशक घिसिङले विद्युत खपतको लागि पर्याप्त विद्युत् भएकाले तिहारमा जतिसक्दो बढी विद्युत् प्रयोग गर्दा पनि लोडसेडिङ नहुने बताए। उनले कुनै प्राविधिक समस्याबाहेक लक्ष्मी पूजामा बत्ती नजाने प्रष्ट पारे। 

उनले यो वर्षको तिहारका लागि पुग्ने विद्युत् नेपालमै उत्पादन रहेको भन्दै तिहारको लागि विद्युत् आयात गर्नुपर्ने अवस्था नरहेको बताए। उनले तिहारमा विद्युत् निर्यात समेत गर्न सकिने अवस्था रहेको बताएका छन्। 

घिसिङको पहिलो कार्यकालमा लोडसेडिङ हटाएर चर्चा पाएका थिए। २०७३ सालको तिहारमा लोडसेडिङबिना झिलिमिलि बत्ती बाल्ने वातावरण बनाएका थिए। तिहारको लक्ष्मी पूजाका दिन सबैभन्दा धेरै खपत हुने गरेको छ।