नेपाली राष्ट्रिय फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारी ‘साम्बा’ व्यवसायिक फुटबल खेल्न फ्रान्सतिर लागेकी छन्।

महिला साफ च्याम्पियनसिपको फाइनलमा बंगलादेशसँग २-१ ले पराजित भएको राति नै उनी व्यावसायिक फुटबल खेल्न फ्रान्स गएकी हुन्।

छैटौं पटक फाइनलमा पुग्दा पनि उपाधि जित्न नसकेको पीडा बोकेर उनी पेरिसतिर लागेकी हुन्। तर उनलाई बिदाइ गर्न अखिल नेपाल फुटबल संघका कुनै पदाधिकारी र कर्मचारी विमानस्थलमा देखिएनन्।

उनले विमानस्थलमा हजारौँ नेपाली समर्थकको साथ पाउँदा पनि उपाधिबाट चुक्दा दुःख लागेको बताइन्।

अर्को पटक उपाधिका लागि अझै मिहिनेत गर्ने विश्वास दिलाउँदै उनी तिहारको मुखमा फ्रान्सतिर लागेकी हुन्।

उनी विगत एक वर्षादेखि फ्रान्सको शीर्ष डिभिजनको क्लब एना भान गुइनगाम्पबाट व्यवसायिक फुटबल खेल्दैछिन्। त्यसअघि उनले इजरायली क्लबबाट फुटबल खेलेकी थिइन्।