सहकारी ठगी प्रकरणमा गत कात्तिक २ गते पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा सभापति रवि लामिछानेको बयान सकिएको छ।

बुधवार बेलुका रविको बयान सकिएको जिल्ला सरकारी वकिल कार्यालय कास्कीले जनाएको छ।

सहकारी ठगी सम्बन्धमा प्रहरीले कात्तिक २ गते लामिछानेलाई पार्टी कार्यालय चमतीबाट पक्राउ गरेर स्थलमार्ग हुँदै कास्की लगेको थियो। उनी कात्तिक ३ गतेदेखि कास्की प्रहरीको हिरासतमा छन्।

उनको बयान सकिएको पुष्टि सहायक जिल्ला न्यायाधिवक्ता विपिनराज तिवारीले गरेका छन्। उनका अनुसार तिहारपछि लामिछानेलाई अदालतमा उपस्थित गराइने छ।

उनलाई २० गते अदालत उपस्थित गराएर म्याद थप गरिने तिवारीले जानकारी दिए। उनले भने, ‘बुधबार बेलुका नै बयान सकिएको हो। अब आवश्यक प्रमाण र कागजात, भिडियो झिकाउने काम हुन्छ। अनुसन्धानबाट तानिएका अरू व्यक्तिलाई पनि खोज्ने काम हुँदैछ।’

उनले रविको बयानका कुराहरु खुलाउन चाहेनन्। रविले सहकारी ठगीमा आफ्नो संलग्नता नरहेको पुष्टि एमाले सांसद सूर्यबहादुर थापा क्षेत्री नेतृत्वको संसदीय छानबिन समितिले नै गरिसकेको दलिल बयानका क्रममा गरेका छन्।