सुनसरीको चतरामा 'स्टोन स्किपिङ' च्याम्पियनसिप आयोजना हुने भएको छ। चतरा हाइकिङ समूहको आयोजना र ग्रामीण पत्रकार समूहको सह-आयोजनामा चतरा नहरमा आगामी कात्तिक १६ गते प्रतियोगिता आयोजना हुने धरानमा सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको छ।
‘पर्यावरण प्रवर्द्धन र एकता, खेल पर्यटनमा विविधता’ भन्ने नाराका साथ आयोजना हुने प्रतियोगिताका विजेता क्रमशः पहिलो, दोस्रो र तेस्रोले नगद २५ हजार रुपैयाँ, १५ हजार रुपैयाँ र १० हजार रुपैयाँ ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने छन्।
‘नेपालकै सबैभन्दा ठूलो चतरा नहरमा यो खेल आयोजना हुँदैछ। यो खेल सामान्यतः नदी, तलाउ, पोखरी र नहरमा ढुङ्गा फालेर खेलिने गरिन्छ। चेप्टो र गोलाकार ढुङ्गालाई पानीको सतहमा हुइँक्याएर खेलिन्छ’, संयोजक नवराज विष्टले भने,‘पानीको सतहमा उक्त ढुङ्गा कतिपटक उफ्रिन्छ, त्यसको गणना गर्ने गरिन्छ। सबैभन्दा बढी अङ्क ल्याउने विजेता बनाइन्छ।’
क्यामेरा प्रविधिबाट प्रतियोगिताको निर्णय गर्ने चतरा हाइकिङका संस्थापक विजयकुमार राउतले जानकारी दिए। उनका अनुसार गत वर्ष यो प्रतियोगितामा स्थानीय राहुल लिम्बू पहिलो, राजेन्द्र कार्की दोश्रो र सञ्चारकर्मी लक्ष्मण कटुवाल तेस्रो भएका थिए। उनीहरूले क्रमशः ५ हजार, ३ हजार र २ हजार रुपैयाँसहित प्रमाणपत्र प्राप्त गरेका थिए।
यो खेल अमेरिका, आयरल्यान्ड, स्कटल्याण्ड लगायत देशमा नदी, ताल र जाम पानीमा प्रत्येक वर्ष रूपमा खेलिने गरिन्छ। गिनिज बुक अफ वर्ल्ड रेकर्डका अनुसार ८८ पटक ढुङ्गा उफारेर अमेरिकी नागरिक कर्ट स्टेइनरले सन २०१३ मा यो खेलमा रेकर्ड राखेका छन्।
गत वर्ष एक सयजना प्रतिस्पर्धीले सहभागिता जनाएको प्रतियोगितामा यस वर्ष बढ्ने आयोजकको विश्वास छ।