नेपाल स्टक एक्सचेन्ज (नेप्से) सोमबारको कारोबारमा २७ अंकले बढेको छ। साताको दोस्रो कारोबारको दिन बजार २७.४१ अंकले बढेको हो। बजार मापक २६४५.३६ विन्दुमा उक्लिएको छ।
यस दिन २१३ कम्पनीको सेयर मूल्य बढेको छ। २८ कम्पनीको सेयर मूल्य घटेको छ। दुई कम्पनीको सेयर मूल्य स्थिर रह्यो।
बजारसँगै कारोबार रकम पनि बढेको छ। पाँच अर्ब ३४ करोड ४८ लाख रुपैयाँबराबरको सेयर एक करोड चार लाख १८ हजारपटकमा खरिद–बिक्री भएको छ। आइतबार चार अर्ब ७३ करोडको सेयर खरिद–बिक्री भएको थियो।
जानकी फाइनान्स तथा दोल्ती पावरको सेयर मूल्यमा सकारात्मक ‘सर्किट ब्रेक’ लागेको छ। रिभर फल्स, मेन्छियम हाइड्रो, मायाखोला हाइड्रो उच्च कारोबार गर्ने शीर्ष कम्पनीमा परे।
बजार बढ्दा १३ वटै समूहगत परिसूचक हरियो देखिएका छन्। सबैभन्दा धेरै फाइनान्स समूह ३.४६ अंकले बढेको छ।