मोरङमा फरक क्षमता भएका व्यक्तिमाथि कुटपिट भएको छ। कुटपिट गर्ने युवकलाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा विराटनगर महानगरपालिका वडा नम्बर ११ घर भएका २४ वर्षीय “बब” भनेर चिनिने राजकुमार सहनी रहेका छन्।

उनलाई आइतबार राति ९ बजेतिर प्रहरीले विराटनगर बसपार्कबाट पक्राउ गरेको हो। पक्राउ परेका उनीमाथि सोमबार जिल्ला अदालत मोरङमा “कुटपिट तथा अङ्गभङ्ग” शीर्षकको मुद्दामा म्याद थप गरिएको छ।

सहनीले स्थानीय कैलाश कुमार गुरुङलाई कुटपिट गरेका थिए। उनी जन्मजात नै बोल्न नसक्ने र कानसमेत कम सुन्ने (शारीरिक रूपमा फरक क्षमता) भएका व्यक्ति हुन्।

कात्तिक ४ गते अपरिचित व्यक्तिले कुटपिट गरी फरार रहेको भन्ने उजुरीका आधारमा खोजतलास गर्ने क्रममा सहनीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

कुटपिटबाट गुरुङको दुवै हात भाँचिएको र टाउकोमासमेत गम्भीर चोट लागेको छ। उनको अहिले प्रादेशिक अस्पताल कोशीमा उपचार भइरहेको प्रहरीको भनाइ छ।

प्रहरीले घटनास्थलको सुक्ष्म अवलोकन तथा अनुसन्धान, गोप्य रूपमा सोधपुछ तथा सिसी टिभि फुटेज समेतको अध्ययन र विश्लेषण गरी कुटपिट गर्नेको पहिचान गरेको थियो।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।