युगकवि सिद्धिचरणका कालजयी रचनाहरुको समिक्षा गरिएको पुस्तक ‘क्रान्तिका अग्रदूत युगकवि सिद्धिचरण’ बजारमा आएको छ।
साहित्यकार, समिक्षक तथा समालोचक स्वयम्भु शाक्यद्वारा लिखित पुस्तक सुन्दर स्वदेश पब्लिकेशनले हालै बजारमा ल्याएको हो। पुस्तकमाथि युगकवि सिद्धिचरण प्रतिष्ठानका अध्यक्ष वैरागी काँइलाले मन्तव्य जाहेर गरे। पुस्तकको ऐतिहासिक महत्वबारे युगकवि सिद्धिचरणको सिर्जनाका अध्येता डा.फणिन्द्रराज निरौलाले प्रकाश पारेका छन्।
डा. निरौलाले पुस्तकमाथि टिप्पणी गर्दै भन्नु भने,‘प्रस्तुत पुस्तक युगकवि सिद्धिचरणका प्रतिनिधि रचनाहरु अध्ययन गरिएको एउटा सुन्दरतम कृति हो।’
त्यसैगरी, पुस्तकमा युगकवि सिद्धिचरण प्रतिष्ठानका संरक्षक रविचरण श्रेष्ठले युगकवि सिद्धिचरणका केही कविता र खण्डकाव्यहरूको विषयमा चिन्तन र विवेचना गरी प्रकाशनमा आएको पुस्तक एक महत्त्वपूर्ण दस्ताबेज भएको बताए। 
लेखक शाक्यले दुई वर्षको तयारी पछि पुस्तक बजारमा आएको बताए। ६५ वटा फुटकर कविता, युगकविको जेल संस्मरण, मङ्गलमान, जुनकिरी र भिमशेन थापा शीर्षकको खण्डकाव्यका बारेमा अध्ययन गरी लेखिएको पुस्तक ५४० पेजको रहेको छ। मन छुने शैलीमा लेख्ने खुबी भएका शाक्यले युगकविको रचनाहरुलाई समिक्षा मार्फत थप पठनीय बनाएका हुन्।