ग्राहकको स्वास्थ्यमाथि पटक–पटक खेलवाड गरेको भन्दै लहानको माखन भोग होटललाई खाद्य तथा गुण नियन्त्रण कार्यालयले रु २० हजार जरिवाना गरेको छ । लहान नगरपालिकाका उपप्रमुख रामचलितर महतोको नेतृत्वमा मङ्गलवार गरिएको बजार अनुगमनका क्रममा उक्त होटलका समोसामा कीरा फेला परेपछि जारिवाना गरिएको हो ।

उपप्रमुख महतोको नेतृत्वमा खाद्य तथा गुण नियन्त्रण कार्यालय, घरेलुु तथा साना उद्योग कार्यालय, राष्ट्रिय उपभोक्ता मञ्चसहितको संयुक्त टोलीले अनुगमन गरेको हो । अनुगमन टोलीले कृष्णा सप्लायर्समा पनि लाखौं मूल्य बराबरका म्याद गुज्रिएको पेयपदार्थ फेलापरेको छ भने ऋषिजल पानी कम्पनीले  ‘मिनरल वाटर’को मूल्य बढी राखेर उपभोक्तालाई बिक्री गर्ने गरेको फेला पारेको छ ।

कृष्णा सप्लायर्सलाई तीन दिनभित्र म्याद गुज्रिएका रु एक लाख २५ हजार छ सय ८० मूल्यका कोक, स्प्राइट र बियरसहितका पेयपदार्थ नष्ट गर्न समय दिएको छ भने ऋषिजल पानी कम्पनीलाई स्पष्टीकरण सोधेको छ । संविधानको अनुसूची ६ र स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले स्थानीय बजार अनुमगन र व्यवस्थापनको जिम्मा स्थानीय सरकारलाई दिएको छ ।