गृहमन्त्री रमेश लेखकले कांग्रेस संसदीय दलको बैठकमा बाढी–पहिरोबाट भएको मानवीय र भौतिक क्षतिको ब्रिफिङ गरेका छन्।
मङ्गलवार दिउँसो नयाँ बानेश्वरस्थित ल्होत्से हलमा बसेको बैठकमा गृहमन्त्री लेखकले उद्धार, राहत र घाइतेको उपचारबारे जानकारी गराएका हुन्। उनका अनुसार सरकारले सात सयभन्दा बढी मानिसको हेलिकप्टरबाट उद्धार गरिएको छ। 
सरकारले तत्काल अस्थायी आवास निर्माण गर्ने र आगामी दिनमा स्थानीय आवास बनाउने व्यवस्था मिलाइएको बताए। क्षतिग्रस्त संरचनाको मर्मत गरी सञ्चालनका लागि सरकारले काम अगाडि बढाएको गृहमन्त्री लेखकले बताए। 
गृहमन्त्री लेखकले गृह मन्त्रालयको सहसचिवको नेतृत्वमा सोमबार आठ वटा टोली बनाएर  क्षतिग्रस्त आठ जिल्लामा पठाइएको बताए। यातायात सञ्चालन गरी मूल्यवृद्धि नियन्त्रणका लागि सरकार सचेत रहेको बताए। नेपाली सेना, प्रहरी, सशस्त्र प्रहरीले सडक सञ्चालनका लागि काम गरिरहेको उनको भनाइ थियो। 
गृहमन्त्री लेखकका अनुसार नख्खु खोलामा टिनको छाप्रोमा उद्धार गर्ने विषयमा सशस्त्र प्रहरी र नेपाल प्रहरी पठाइएको थियो। उनले भने,‘सशस्त्र प्रहरीको बोट पल्टिँदा उद्धारमा समस्या भएको हो। त्यति बेला सेनाले हेलिकप्टर उठाउने भिजिबिलिटी नभएको बताउनु भएको थियो। एक जना स्थानीयले उद्धार गरेपछि नेपाल प्रहरीकै गाडीमा अस्पताल लगिएको थियो। प्रहरीले सहयोग नगरेको भन्ने होइन। चार हजार भन्दा बढीको सरकारले उद्धार गरेको छ। एउटा घटनालाई लिएर सरकारले केही गरेन भन्नू न्यायोचित हुँदैन।’ सरकारले अहिले पनि राहत र उद्धारको काम भइरहेको गृहमन्त्री लेखकले बैठकमा सुनाए।