केहीदिनदेखि परेको अविरल वर्षासँगैको बाढीले सुनसरी जिल्लाका अधिकांश किसानका धानखेतीमा क्षति पुर्‍याएको छ। 

भोक्राहा नरसिंह गाउँपालिकामा मात्र करिब ४० बिघा जमिनमा धान रोपाइँ भएको थियो। लगातारको वर्षाले धान खेतमा पानी नसुकेपछि खेतमै उम्रिन थालेको छ। किसानले वार्षिक रुपमा मजदुरको अभावका साथै आर्थिक सङ्कट, मल तथा बिउ अभावका बीच पनि खेती गर्दै आएका छन्। सिँचाइका लागि पानी आवश्यक भएका बेला नपर्ने, अहिले धान काटेर भित्र्याउने बेला परेको पानीले खेती सबै नष्ट गरेको छ। 

यसैबिच कोशी–४ मा बाढीबाट डुबानमा परेका ४० परिवार घर फर्किएका छन्। सुनसरी खोला र मरिया खोलाको बाढीले गाउँपालिकाका कतिपय स्थान आंशिक डुबानमा परेका भन्दै वडा नं २ र ४ का पीडित घर फर्किन थालेका छन् भने वडा नं ५ र ७ का पीडित अहिले पनि सार्वजनिक स्थानमा बसिरहेका छन्। 

बाढीले गाउँपालिकाको करिब एक सय बिघामा पाकेको धानखेती तथा एक सय बिघा तरकारी खेतीमा क्षति गर्नुका साथै दुई किलोमिटर सडक कालोपत्र भत्काएको छ। दसैँ नजिकिएसँगै बिक्रीका लागि तयार पारिएको कोपी, वैगुन, परबल, भिण्डी, करेला, लौका, फर्सी, घिरौँला, काक्रा लगायत तरकारी बालीमा बाढीले क्षति पुर्‍याएको छ।