मोरङको रंगेली नगरपालिका–९ शान्ति चोकमा आगोले एउटा घर जलेर ध्वस्त हुँदा १५ लाख बराबरको क्षति भएको छ।

प्रहरीका अनुसार आगोले मुकुन्दप्रसाद कोइरालाको अढाई तले घरसहित घरभित्र रहेका अन्नपात, लत्ताकपडा, सुनचाँदी, नगद, महत्वपूर्ण कागजात सबै जलेर ध्वस्त भएको छ। प्रहरीका अनुसार आइतबार साँझ ६ः४५ बजेतिर आगलागी भएको थियो।

आगलागीको कारण खुल्न नसकेको र विद्युत सर्ट भएर आगलागी भएको हुनसक्ने अनुमान गरिएको प्रहरीले जनाएको छ। इलाका प्रहरी कार्यालय रंगेलीका इन्स्पेक्टर सन्तोषकुमार खड्का नेतृत्वको टोली, स्थानीय र दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो।

मानवीय एवं चौपाया क्षति भने नभएको घटनामा १५ लाख बराबरको क्षति भएको प्रहरीको भनाइ छ। प्रहरीले आगलागीको अनुसन्धान सुरु गरेको छ।