अविरल वर्षासँगको बाढीपहिरो र डुबानमा परी मृत्यु हुनेको संख्या एक सय ९२ को पुगेको छ। ३० जना अझै बेपत्ता रहेको गृहमन्त्रालयले जनाएको छ। 

प्राकृतिक विपद्मा एक सय ९४ जना घाइते भएको मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले जानकारी दिए। उनका अनुसार बाढीपहिरोपछिको खोज, उद्धार र राहतका लागि सबै सुरक्षा निकाय परिचालित गरिएको छ।

हालसम्म करिब चार हजार पाँच सयभन्दा बढी विपद् प्रभावितको उद्धार गरिएको उनले जानकारी दिए।

बाढीपहिरो प्रभावितलाई खाद्यान्नलगायत आपत्कालीन राहत सामग्री उपलब्ध गराइएको तथा घाइतेको निःशुल्क उपचार भइरहेको मन्त्रालयले जनाएको छ। 

सरकारले खोज, उद्धार र राहतलाई उच्च प्राथमिकता दिएको छ। यातायात सञ्चालन गर्न अवरुद्ध राजमार्ग खोल्न पहल भइरहेको पनि प्रवक्ता तिवारीले बताए।