राजधानी काठमाडौँ भित्रने प्रमुख नाका नागढुंगानजिकै धादिङको झ्याप्ले खोलामा पहिरोमा परी हालसम्म ३५ जनाले ज्यान गुमाएका छन्।
मृतकको सङ्ख्या अझै बढ्न सक्ने सुरक्षा अधिकारीको अनुमान छ। चितवन, गोरखा र रुपन्देहीको बुटवलबाट काठमाडौँ भित्रँदै गरेका तीन सवारीसाधन पहिरोमा पुरिँदा यात्रुले ज्यान गुमाएका हुन्।
गोरखाबाट काठमाडौँ आउँदै गरेको ना४ख २२७० नम्बरको बस, चितवनबाट आउँदै गरेको बा३ज १३४५ नम्बरको माइक्रोबस र बुटवल हुँदै काठमाडौँ आउँदै गरेको लु१ख ४५७८ नम्बरको विंगर (भ्यान) पहिरोमा पुरिएका जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख एवं प्रहरी उपरीक्षक (एसपी) गौमत केसीले जानकारी दिए।
पहिरो अझै पन्छाउन बाँकी छ। ती तीन सवारीसाधनमा कति यात्रु सवार थिए भन्ने यकिन भइसकेको छैन। नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका टोलीबाट पहिरो पन्छाउने कार्य जारी छ।
बुटवलबाट काठमाडौँ आउँदै गरेको विंगरबाट १४ जनाको शव निकालिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं एसपी नवराज अधिकारीले जानकारी दिए।
उनका अनुसार, पहिरोमा पुरिएको विंगरबाट आठ पुरुष र चार महिलाको शव निकालिएको छ। चितवनबाट आउँदै गरेको माइक्रोबसबाट १६ जनाको शव निकालिएको छ। माइक्रोबाट १२ पुरुष र चार महिलाको शव निकालिएको हो। गोरखाबाट आउँदै गरेको बसबाट पाँच पुरुषको शव निकालिएको छ। बस निकाल्ने काम जारी छ।