झ्याप्ले खोलाको पहिरोमा आमासहित जुम्ल्याहा दाजुबहिनी सधैंका लागि अस्ताएका छन् । 

स्याङ्जाको गल्याङ नगरपालिका निवासी जुम्ल्याहा दाजुबहिनी दिपेश र दीपिका भट्टराई सहित आमा सीता भट्टराई शुक्रबार बुटवलबाट काठमाडौँका लागि लु १ ज ४५७८नम्बरको विङ्गर (बस) चढेर निस्किएका थिए।

बुटवलको कालिका मानवज्ञान माध्यमिक विद्यालयको कक्षा १० मा अध्ययनरत यी जुम्ल्याहा दाजुबहिनीको योजना बंगलादेशमा हुने नेशनल एस्ट्रोनोमी ओलम्पियाड २०२४ प्रतिस्पर्धामा भाग लिनु थियो।

अनलाइनमार्फत फर्म भरेर पहिलो चरण पार गरेका उनीहरू यही भदौ १७ गते हुने दोस्रो चरणको प्रतिस्पर्धामा भाग लिन काठमाडौँ हिडेका थिए।

चालक रमेश लुइँटेलले हाँकेको उक्त विङ्गर काठमाडौँ पुग्न नपाउँदै जुम्ल्याहा मेधावी दाजुबहिनीको जीवनयात्रा पनि धादिङको झ्याप्ले खोलामा सदाका लागि टुंगियो।

शुक्रबार बुटवलबाट छुटेको उक्त विङ्गर त्यही राति धादिङको धुनबेँसी नगरपालिका वडा नं. ९ स्थित नागढुंगा-नौबिसे सुरुङमार्ग नजिकै झ्याप्लेखोलामा आएको लेदोसहितको पहिरोमा पुरियो।

अहिले पनि उद्धारकार्य जारी रहेको त्यही झ्याप्ले खोलाको पहिरोमा जुम्ल्याहा दाजुबहिनी र उनीहरूकी आमासहित ३५ जनाको शव सुरक्षाकर्मीले झिकिसकेका छन्।