राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रवि, रास्वपा, र सहकारी यही तीन खम्बामा राजनीति अड्किदा सरकार प्राकृतिक प्रकोपको सामनामा चुकेको निस्कर्ष निकालेको छ।
आइतबार बसेको केन्द्रीय समिति बैठकपछि रास्वपा प्रवक्ता मनिषा झाले पत्रकारहरुसँग कुराकानी गर्दै सरकार, गठबन्धन, गठबन्धन आबद्ध राजनीतिक दल र राजनीतिक कार्यकर्ता सबैको राजनीति सबै ‘रवि, रास्वपा, र सहकारी’ यही तीन खम्बामा अड्किएको कारण प्राकृतिक विपत्ति आउँदै गर्दा सामना गर्न कोही तयार नभएको बताए।  
उनले भने,‘सहकारीको विषयमा पटक–पटक धेरै चर्चा गरिसक्यौँ। अब देश र राजनीति योभन्दा अघि बढे हुन्थ्यो भन्ने हाम्रो धारणा हो। सबै यसैमा अड्किँदा मूल्य के हुन्छ भन्ने कुरा पनि देख्यौँ। सरकार, गठबन्धन, गठबन्धन आबद्ध राजनीतिक दल र राजनीतिक कार्यकर्ता सबैको राजनीति सबै यही तीन खम्बामा अड्किएको थियो। योबाहेक अरू कसैले केही सोचिराखेको थिएन। त्यसैले, यस्तो प्राकृतिक विपत्ति आउँदै गर्दा कोही तयारी अवस्थामा थिएनन्। त्यसैले, आवश्यक परेको बेला के गर्नुपर्छ सरकारी संयन्त्रले भन्ने कुरामा चुक्यो।’
त्यस्तै, उनले मोबाइलको रिङटोन बजाउँदैमा राज्य संयन्त्रको जिम्मेवारी पूरा नहुने भन्दै सरकारको असक्षमता र अकर्मण्यता देखिएको बताए। दुई दिनको पानीले दुई तिहाइ सरकारको औकात देखाएको भन्दै उनले पहिलो र दोस्रो दल चुनौती पार लगाउने काममा नभई बालेन, हर्क, कुलमानलाई लखेट्न मात्र बनेको उनले आरोप लगाए। 
‘हामीले सरकारको असक्षमता र अकर्मण्यता देख्यौँ। मोबाइलको रिङटोन बजाउँदैमा राज्य संयन्त्रको जिम्मेवारी पूरा हुँदैन। जोखिम हुनेछ भन्ने आङ्कलन पहिल्यै थियो तर काम भएन। राजनीतिक टिप्पणी नै गर्ने हो भने दुई दिनको पानीले दुई तिहाइ सरकारको औकात देखायो। पहिलो र दोस्रो दल मिलेर जस्तोसुकै चुनौती पार लगाउन सक्छ भन्ने सोचेको थियौँ। तर, यो गठबन्धन त बालेन, हर्क, कुलमानलाई लखेट्न मात्र बनेको रहेछ। खोइ त तयारी ?’