युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले, थारु समुदायमा दिनप्रति दिन शिक्षा र स्वास्थ्यको अवस्था कमजोर बन्दै गइरहेको बताएका छन्। 
बुधवार काठमाडौँमा आयोजित आदिवासी थारुको राष्ट्रिय पर्व जितिया महोत्सव २०८१ लाई सम्बोधन गर्दै उनले थारु समुदायमा दिनप्रति दिन शिक्षा र स्वास्थ्यको अवस्था कमजोर बन्दै गइरहेको भन्दै आफ्नो छोराछोरीलाई लगाम लगाउन सम्पूर्ण अविभावकहरुलाई आग्रह गरे। 
उनले भने,‘आफ्नो छोराछोरीलाई चोट पटक नलागोस् भनेर मात्र होइन। शिक्षा पनि राम्रो होस् भनेर बस्नुहोला। थारु समाजमा दिनप्रति दिन शिक्षा, स्वास्थ्यको अवस्था कमजोर रहेको महसुस भइरहेको छ। सानोमा एकदमै राम्रो पढेको हुन्छ तर जति ठुलो हुन्छ, त्यति विद्यार्थीहरु कमजोर हुँदै जान्छ। त्यसैले म आग्रह गर्न चाहन्छु। तपाइको छोराछोरीलाई लगाम लगाइदिनु होला।’
उनले वर्तमान सरकारले सहकारी पीडितहरुको समस्या चाँडै सम्बोधन गर्ने भन्दै जनताको हितको लागि सरकार अग्रसर रहेको बताए। 
उनले भने, ‘म सरकारको मन्त्री भएको नाताले सबैभन्दा पहिले सुशासन कायम गर्ने कुरामा मेरो अहम भूमिका छ। सहकारी पीडितहरुको समस्या पनि सरकारले चाँडै सम्बोधन गर्छ। जनताको हितको लागि सरकार सधैँ अग्रसर छ।’
उनले जितिया पर्वलाई देशमा मात्र नभएर अन्तराष्ट्रिय स्तरमा भव्य रुपमा मनाउनु पर्ने धारणा राखे।