सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले सञ्चार क्षेत्र सधैँ ओझेलमा परेको र राज्यको नजरमा नपरेको क्षेत्र भएको बताएका छन्। 
बुधवार काठमाडौँमा आयोजित एक कार्यक्रममा उनले सञ्चार क्षेत्र सबै पुरानो कानुनले चलिरहेको भन्दै सबैभन्दा संवेदनशील क्षेत्र भएर पनि राज्यको ध्यान नगएको बताएका हुन्। 
उनले भने, ‘सञ्चार क्षेत्र जटिल छ, यो क्षेत्र आफैँमा संवेदनशील छ। अहिलेसम्म यो क्षेत्रमा केही भएको छैन भन्ने हो भने यो अवस्थासम्म आइसकेका छौँ। सबै जनाले काम गर्नु भएकै छ। तर सार रूपले भन्ने हो भने भएको केही पनि छैन। सबै पुरानो कानुनले चलिरहेका छन्। नयाँ नीति, कानुन केही छैन। मुलुकमा गणतन्त्र आइसक्यो, तर कानुनमा केही पनि परिवर्तन छैन। यो सबैभन्दा संवेदनशील क्षेत्र हो तर सधैँ ओझेलमा परेको र राज्यको नजरमा नपरेको क्षेत्र पनि हो। अब यसको सुधार गर्नुपर्छ।’
यस्तै, उनले यो वर्ष हुलाकको राष्ट्रिय नीति बनाउने भन्दै हुलाकको विषयमा नीतिगत रुपमा फड्को मार्ने बताए। 
उनले भने, ‘यो वर्ष हुलाकको राष्ट्रिय नीति बनाउने, पहिला पनि थियो होला त्यसलाई सुधार गरेर नयाँ ल्याउने। नीति भएपछि मात्र त्यसको आधारमा कानुन बन्छ। यो वर्षभित्र सबै नीतिका काम सकिन्छ। हुलाकको विषयमा नीतिगत रुपमा फड्को मार्ने काम गर्छौँ।’
साथै, उनले नीतिगत, कानुन, बजेट, जनशक्ति लगाएको समस्या कहाँ छ भनेर सबै पहिल्याएर  समाधान गर्नुपर्ने भन्दै यो वर्षभित्र सबै कुराको समाधान गर्ने प्रतिबद्धता पनि व्यक्त गरे।