नेपाल पौडी सङ्घले १२ औँ संस्करणको एन.एस.ए. कप पौडी प्रतियोगिता आयोजना गर्ने भएको छ। 
बुधवार पत्रकार सम्मेलनको आयोजना गर्दै सङ्घले असोज १३ र १४ गते दुई दिन सातदोबाटो स्थित आउटडोर पौडी पोखरीमा खुल्ला तथा उमेर समूह पौडी प्रतियोगिता आयोजना गर्न लागेको जानकारी दिएको हो।
यो प्रतियोगितालाई नेपालमा पौडी खेलाडीको विकास, मूल्याङ्कन र नव प्रतिभावान् खेलाडीको प्रतिभा प्रस्फुटन गर्ने एउटा ऐतिहासिक कडिको रुपमा लिएको आयोजकले जनाएको छ। 
विज्ञप्तिमा लेखिएको छ, ‘यो प्रतियोगितालाई हामीले नेपालमा पौडी खेलाडीको वृद्धि विकास, मूल्याङ्कन र नव प्रतिभावान् खेलाडीको प्रतिभा प्रस्फुटन गर्ने एउटा ऐतिहासिक कडिको रुपमा लिएका छौँ।’
आयोजकका अनुसार प्रतियोगितामा विभिन्न विद्यालय, पौडी क्लब र प्रदेशहरुबाट ३५० खेलाडीहरुको सहभागिता रहने छ। 
विगतको प्रतियोगितामा झैँ यो प्रतियोगितामा पनि खेलाडीहरुको उत्कृष्ट प्रदर्शन सँगै नयाँ राष्ट्रिय कीर्तिमानहरू कायम गर्ने विश्वास आयोजक पौडी सङ्घले लिएको छ। 
प्रतियोगितामा खुल्ला (महिला/पुरुष) र विभिन्न उमेर समूह (महिला/पुरुष) गरी ७२ वटा स्पर्धामा प्रतिस्पर्धा हुनेछ। 
राष्ट्रिय कीर्तिमान कायम गर्ने खेलाडीलाई नयाँ कायम समयको आधारमा १ सेकेन्ड भन्दा कम समय भएमा रु. ५,०००।– (पाँच हजार), १ सेकेन्ड देखि ३ सेकेन्ड सम्मलाई रु.१०,०००।– (दश हजार) र ३ सेकेन्ड भन्दा माथिको फरकमा राष्ट्रिय कीर्तिमान कायम गरेमा रु।२०,०००।– (बीस हजार) नगद पुरस्कार प्रदान गर्ने व्यवस्था गरिएको छ।
प्रत्येक उमेर समूह र खुल्लामा सहभागी खेलाडीहरु मध्ये उत्कृष्ट महिला र पुरुष खेलाडीलाई जनही रु.५,०००।– (पाँच हजार) नगद पुरस्कारको व्यवस्था गरिएको छ।