इटहरी उपमहानगरपालिकामा विद्युतीय बस आज (बुधवार) बाट सञ्चालनमा आएको छ। गाउँ र बजारलाई जोड्ने उद्देश्य बमोजिम ६ करोड ३६ लाखमा खरिद भएका ४ वटा बस औपचारिक रूपमा गुडाउन थालिएको हो।

नगर बसको उद्घाटन गर्दै मेयर हेमकर्ण पौडेलले विभिन्न वडाको भ्रमण गरेका छन्। नगर बस वातावरणमैत्री, सुरक्षित, भरपर्दो र उपभोक्तामुखी भएको उनले बताए।

इटहरीका राजनीतिक दलको तिस वर्ष देखिको योजना र नागरिकको इच्छा आज पुरा गरेको उनको भनाइ छ।

अपाङ्ग मैत्री सेवा उपलब्ध गराइएको बसमा र तत्काललाई २० रुपैयाँ मात्र भाडा दर तोकिएको छ। बस बिहान ७ बजेबाट ११ बजेसम्म र दिउँसो २ बजेदेखि बेलुकी ७ बजेसम्म नियमित सञ्चालन हुने भएका छन्।

रुट निर्धारण समितिका संयोजक तथा उपमहानगरपालिकाका प्रवक्ता दिवस पोखरेलले धरान(विराटनगर सडकमा तरहरादेखि खनारको अरिहन्त उद्योगसम्म बस सञ्चालन हुने बताएका छन्।

वडा नम्बर ६ का अध्यक्ष समेत रहेका पोखरेलका अनुसार पूर्व–पश्चिम राजमार्गमा बुढी खोला (मिलन चोक) देखि लगुना चोक (बिजुली अफिस) सम्म र विराटनगर लाइनको साथी पेट्रोल पम्प हुँदै ११ नम्बर वडाको खेटीपुल र नहरको बाटो हुँदै इटहरी चोक आउने अर्को रुट तय भएको छ। इटहरी चोकबाट तरहरा, भवानीपुर, कान्छी चोक, पकली हुँदै पुनः मुख्य चोकमा बस आउने भएको छ।

अर्कातर्फ इटहरी चोकबाट ताल तलैया हुँदै त्रिभुवन चोक, देविस्थान हुँदै पुनः त्रिभुवन चोक, हवाई चोक, आँपगाछी हुँदै राजमार्गबाट मुख्य चोक ल्याउने गरी रुट तय भएको हो।

त्यसैगरी, उपमहानगरपालिका बाट पश्चिम लाइन लबीपुर हुँदै  १५ नम्बर वडाको चाँदवेला सिमानाबाट १७ नम्बरको पार्टी कार्यालय र कान्छी चोक सम्म बस सञ्चालन हुने भएको छ।