नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भद्रपुरस्थित चन्द्रगढी विमानस्थल बाहिर हत्यारा भन्ने चार जना राजावादीलाई प्रहरीले पक्राउ गरेको छ।

चन्द्रगढी विमानस्थलमा विमान रद्द भएर राति बास बस्नका लागि मेचीनगर ८ स्थित होटेल मेची क्राउनतर्फ जाने क्रममा राजावादीहरूले प्रचण्डलाई हत्यारा भनेका थिए। सो राजावादीको समूह पूर्व राजा ज्ञानेन्द्र शाहलाई बिदाइ गर्न विमानस्थल आएको थियो। राजावादी समूहका तर्फबाट मेचीनगर १० धुलाबारी बस्ने २७ वर्षीय सोना गेलाललगायतले प्रचण्डलाई जथाभावी भनेको बताइएको छ। त्यसपश्चात् नेकपा माओवादी केन्द्रका कार्यकर्ता र राजावादीहरुबीच विवाद भएको थियो।

प्रचण्डलाई हत्यारा भन्ने गेलालसहित चार जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रवक्ता प्रहरी निरीक्षक मेहेगी ल्हामु तामाङले बताइन्। उनीहरूलाई जिल्ला प्रहरी कार्यालयमा ल्याई सोधपुछ भइरहेको उनले जानकारी दिइन्।