संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री प्रसाद पाण्डेले नेपाल एरलाइन्सको अवस्था सबै हिसाबले अत्यन्तै कमजोर भएको बताएका छन्।
सोमबार पर्यटन व्यवसायी रामप्रसाद सापकोटाद्वारा लिखित संस्मरणात्मक कृति ‘आधा शताब्दी’ लोकार्पण समारोहमा उनले नेपालको हवाइ सेवा राम्रो छ भन्ने विश्वास दिलाउने हो भने मात्र पर्यटकहरु आउने भन्दै उड्डयानको क्षेत्रलाई बलियो बनाउन नसक्दा पर्यटक क्षेत्रबाट फाइदा लिनका लागि चुनौती देखिएको बताए।
उनले भने,‘नेपाल एरलाइन्स खस्किएको छ सबै हिसाबले। अत्यन्तै कमजोर भएको छ। नागरिक उड्डयन क्षेत्रलाई विश्वासिलो बनाउन सकेका छैनौँ। जसले गर्दा कोही पनि विदेशी पर्यटक आउँदैगर्दा नेपालको उड्डयान क्षेत्रलाई हेरेर मूल्याङ्कन गर्ला। यस क्षेत्रमा विश्वास दिलाउने हो भने मात्र पर्यटकहरु आउँछन्। उड्डयन क्षेत्रलाई बलियो बनाउन नसक्दा पर्यटक क्षेत्रबाट फाइदा लिन समस्या देखिएको छ।’
यस्तै, उनले नेपाल विविध संस्कृतीको देश भएको भन्दै यस्ता सम्पदाहरुको उजागर, संरक्षणसाथै मार्केटिङ् पनि गर्नुपर्ने बताए।
उनले भने,‘हामीसँग विविध संस्कृति छ। यस्तो संस्कृति सबै देशलाई प्राप्त छैन। सम्पदाहरुको उजागर गर्ने, संरक्षण गर्ने र संवद्र्धन गर्न र विविधता पूर्ण संस्कृतीको संरक्षणसँगै यसको मार्केटिङ पनि गर्नुपर्छ।’
आगामी दिनमा कुनै स्वार्थविना पर्यटकीय क्षेत्रको उत्थानको लागि काम गर्ने विश्वास दिलाउँदै नेपालमा रहेको सम्भावनालाई पहिचान गर्ने दिशामा लाग्नुपर्ने उनको भनाई छ।