सहकारी पीडितहरुले बृहत् सडक आन्दोलनको घोषणा गरेका छन्। 

सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासंघले सोमबार काठमाडौँमा पत्रकार सम्मेलन गरी दवाबमूलक बृहत सडक आन्दोलन गर्न लागिएको जानकारी गराएको हो। 

महासंघले तेस्रो चरणको आन्दोलन सुरु गरेको ९५औँ दिनसम्म पनि सरकारले विगतका सहमति कार्यान्वयनमा कुनै चासो नदेखाएकाले सडक आन्दोलनको विकल्प रोजिएको बताइएको छ।

अध्यक्ष कुशलव केसीले आन्दोलनकै क्रममा चारजना पीडितहरुले ज्यान गुमाइसकेको बताए। 

सहकारी पीडितले आफ्नो बचत फिर्ता पाओस् भन्ने मनशायले तेस्रोपटकको आन्दोलन सुरू गरेको १०१औँ दिन पुगेको अवसरमा आगामी भदौ १६ गतेबाट बृहत आन्दोलन गर्ने बताए। 

सहकारी पीडितहरु १६ महिनादेखि निरन्तर आन्दोलनमा रहेको र यो अवधिमा सरकारले दुईपटक सम्झौता गरेपनि पीडितको पक्षमा केही काम नभएको बताए। 

अध्यक्ष केसीले सरकारले तत्काल कार्यान्वयन गर्ने भनेर दोस्रोपटक आफूहरुसँग सम्झौता गरेको ५ महिना बितिसकेको बताए।

तत्कालिन अवस्थामा आफूहरुले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीसँग सम्झौता गरेको र अहिले पुनः उनी सोही मन्त्रालयको जिम्मेवारीमा आएको बताउँदै अध्यक्ष केसीले अब उनले तत्काल राजीनामा दिनुपर्ने बताए। मन्त्री अधिकारीलाई पदमा बस्ने नैतिकता नरहेको उनको भनाइ छ। 

उनले भने, ‘उहाँले नैतिकताको आधारमा राजीनामा दिनुपर्छ। बलराम अधिकारीज्यूले आफैंले गरेको सम्झौता कार्यान्वयन गर्नसक्ने ल्याकत राख्नुहुन्न भने पदबाट विदा हुँदा नै राम्रो हुन्छ, उहाँले हामीलाई भ्रममा राख्न सम्झौता गर्नुभयो, नैतिकताको आधारमा उहाँले राजीनामा दिनुपर्छ। अब हामी सहेर बस्न सक्दैनौँ।’ 

यस्तै, नेपाल प्रहरीको पूर्व आइजीपी एवं नेकपा (एमाले) का नेता सर्वेन्द्र खनालले पीडितहरुको आँशु देख्न नसकेर यो अभियानमा जोडिएको बताए। 

उनले सहकारी ठगहरुलाई राज्यले हत्कडी लगाएर जेलमा कोच्नुपर्ने बताए। नागरिकहरुलाई उपचार गर्न सक्ने अवस्थामा मार्ने र ठगहरु महँगा गाडी चढेर हिँड्ने परिस्थितिको अन्त्य हुनुपर्ने उनको भनाइ छ। 

सहकारी पीडितहरुको संरक्षण गर्न भनेर बसेकाहरु निकम्मा भएको उनले बताए। सहकारी ठगहरुलाई पक्राउ गरेर जेलमा कोच्न संसदीय विशेष समितिको प्रतिवेदन पनि कुर्न आवश्यक नरहेको उनको सुझाव छ। नेता खनालले सहकारी पीडितहरु जुर्मुराइसकेको बताउँदै मन्त्री अधिकारीलाई सम्झौता तत्काल कार्यान्वयन गर्न आग्रह गरे।