प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौं विश्वविद्यालय र धुलिखेल अस्पतालबीचको सहकार्यलाई कम्तीमा आगामी पाँच वर्षसम्म कायम राख्न निर्देशन दिएका छन् । 

प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको काठमाडौँ  विश्वविद्यालयको ९७ औँ  सभामा कुलपतिका हैसियतले प्रधानमन्त्रीले विश्वविद्यालय र अस्पतालबीचको बेमेल आपसमा बसेर समाधान गर्न निर्देशन दिएका हुन् । 

उनले भने, ‘विश्वविद्यालयले तत्कालै नयाँ अस्पताल खोल्न र त्यसका लागि सरकारले लगानी गर्न नसक्ने भएकाले धुलिखेल अस्पतालसँगको सम्बन्ध र सहकार्यलाई कम्तीमा पाँच वर्ष राखिनुपर्छ । त्यस अवधिभित्र विश्वविद्यलायले आफ्नै अस्पताल खोल्ने गरी तयारी गर्नेछ । यीलगायत नीतिगत विषयमा आगामी भदौभित्र विश्वविद्यालयको अर्काे सिनेट बैठक गरेर निर्णय गरिनेछ । त्यही बैठकमा अन्य चुनौती र कठिनाइका विषयवस्तुलाई पनि छलफलमा राखिनेछ ।’ 

Photo (1) 20

धुलिखेल अस्पतालले प्रदेश सरकारबाट प्रतिष्ठानको स्वीकृति लिन लागेको र विश्वविद्यालयले आफ्नै अस्पताल खोल्ने तयारी गरेको सन्दर्भमा दुई संस्थाबीच विवाद र अन्योल उत्पन्न भएको थियो । 

प्रधानमन्त्री ओलीले सिट क्षमता अनुसार विश्वविद्यलायमा विद्यार्थी भर्ना हुने अवस्था ल्याउन सुझाव पनि दिएका छन् । 

नेपाल सरकारको गत आर्थिक वर्षमा अनुमानभन्दा २४ प्रतिशतले राजस्व कम उठेको र खर्च डरलाग्दो गरी बढेकाले चाहेर पनि सरकारले विश्वविद्यालयलाई थप अनुदान दिन नसक्ने उनको भनाइ थियो । 

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री एवं सहकुलपति विद्या भट्टराईको उपस्थितिमा भएको बैठकमा विश्वविद्यालयका रजिष्ट्रार डा.अच्युतप्रसाद वाग्लेबाट प्रस्तुत रु चार अर्ब ३० करोड ९० लाख बजेट पारित भएको छ । 

यस्तै, सभाले आगामी २९ औँ दीक्षान्तका लागि विभिन्न संकायबाट दीक्षित हुने दुई हजार तीन सय १४ विद्यार्थीको ग्रेसलिष्ट पारित गरेको छ ।