राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रधानमन्त्री केपी शर्मा ओलीले राख्ने विश्वासको मतको प्रस्तावको विपक्षमा मतदान गर्न सांसदहरूका लागि ह्विप जारी गरेको छ।
रास्वपा संसदीय दलको आइतबारको बैठकले प्रधानमन्त्री ओलीको विपक्षमा मतदान गर्नका लागि ह्विप जारी गरेको हो।
यस्तै नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)ले प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिन ह्वीप जारी गरेको छ। संसदमा आज प्रस्तुत हुने विश्वासको मतसम्बन्धी प्रस्तावको विपक्षमा मतदान गर्न समाजवादीले आफ्ना सांसदलाई ह्वीप जारी गरेको हो।
विश्वासको मत नदिए पनि प्रतिपक्षमा रहेर सरकारलाई गुण र दोषका आधारमा सहयोग गर्ने सो पार्टीको निर्णय छ।
प्रधानमन्त्री ओलीले प्रतिनिधिसभाको आइतबार १ बजे बस्ने बैठकमा विश्वासको मतको प्रस्ताव राख्ने कार्यसूची रहेको छ। कांग्रेस र एमालेको गठबन्धनबाट ओली प्रधानमन्त्री बनेका हुन्।
असार २८ मा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ले संसद्मा पेस गरेको विश्वासको मत बहुमत सांसदले अस्वीकृत गरेका थिए।