गत आर्थिक वर्षमा कोशी प्रदेशमा हात्तीको आक्रमणबाट १० जनाको ज्यान गएको छ भने २५ जना घाइते भएका छन्। सोही अवधिमा पाँच वटा हात्ती मरेका प्रदेश प्रहरी कार्यालयले जनाएको छ।

प्रहरीका अनुसार गत आवमा हात्तीको आक्रमणबाट झापा, मोरङ र सुनसरीका १० जनाको मृत्यु भएको ह। प्रदेश प्रहरी कार्यालयका प्रवक्ता भीमबहादुर दाहालले हात्तीको आक्रमणबाट ज्यान गुमाउनेमा सबैभन्दा बढी झापा जिल्ला रहेको जानकारी दिनुभयो। उहाँले झापामा एक वर्षको अवधिमा छ, सुनसरीमा तीन र मोरङमा एक जनाको ज्यान गएको बताउनुभयो।

“झापाको मेचीनगर नगरपालिका–४ स्थित प्रसाद गौंडाबाट गत वर्षको कात्तिकमा पसेका रैथाने हात्ती ३५ भन्दा बढीको समूहले ठूलो धनजनको क्षति गरेको थियो। सोही अवधिमा झापामा चार वटा र मोरङमा एउटा हात्ती मरेका थिए”, प्रवक्ता दाहालले भन्नुभयो। उहाँले एक वर्षको अवधिमा हात्तीको आक्रमणबाट झापामा १४, इलाममा एक, मोरङमा तीन, सुनसरीमा पाँच र उदयपुरमा दुई गरी २५ जना घाइते भएको जानकारी दिनुभयो।

हात्तीको आक्रमणबाट ज्यान गुमाउनेलाई सरकारले रु. १० लाख क्षतिपूर्ति स्वरुप प्रदान गर्दै आएको छ। घाइतेको उपचारका लागि रु. २५ हजारदेखि रु. एक लाखसम्म उपलब्ध गराउँदै आइएको डिभिजन वन कार्यालय झापाले जनाएको छ।