बेलबारी : मोरङको बेलबारी नगरपालिका ८ स्थित सिंहदेवी एकेडेमीले दक्ष तथा अनुभवी शिक्षक समूह तथा गुणस्तरीय अध्यापनका माध्यमबाट सघन शहरी क्षेत्रका विद्यार्थीलाई आकर्षित गर्न थालेको छ। कक्षा ११ मा विज्ञान, व्यवस्थापन तथा कानून सङ्काय अध्यापन गर्दै आएको एकेडेमीमा कोशी प्रदेशको राजधानी विराटनगरजस्ता ठूला शहरबाट समेत विद्यार्थी अध्ययनका लागि आउन थालेका हुन्।

एकेडेमीका सञ्चालक रबिन थापाका अनुसार नगरका अन्य विद्यालयभन्दा व्यवस्थित र पृथक शैलीको पठनपाठन र दक्ष तथा अनुभवी एवं व्यावहारिक शिक्षण कौशल भएका शिक्षकहरूको सामूहिक उपस्थितिका कारण एकेडेमीमा शहरी क्षेत्रका विद्यार्थीको आगमन हुन थालेको हो।

एकेडेमीमा अध्ययन गरेका कक्षा ११ का सतप्रतिशत विद्यार्थीले राष्ट्रिय परीक्षा बोर्डले लिएको परीक्षा राम्रो अङ्कका साथ उत्तीर्ण गर्न थालेपछि एकेडेमीमा पहिलेको तुलनामा बढी विद्यार्थी भर्ना हुन थालेको सञ्चालक थापाको अनुभव छ। गत वर्ष कक्षा ११ मा एक सय विद्यार्थी भर्ना भएकोमा यस वर्ष एसईई परीक्षामा राष्ट्रियस्तरमै आएको न्यून नतिजाका बावजुद आफ्नो विद्यालयमा एक सय २० जनाभन्दा बढी विद्यार्थी भर्ना भएको उनी बताउँछन्।

विराटनगरको एक निजी विद्यालयबाट एसईई परीक्षा उत्तीर्ण गरेकी साक्षी गिरी विज्ञान सङ्कायको अध्ययनका लागि राम्रो पूर्वाधार तथा शान्त वातावरण सिंहदेवीमा उपलब्ध रहेकाले आफूले अध्ययनका लागि यसै एकेडेमीलाई रोजेको बताउँछिन्। पहिलेदेखि नै सोचविचार गरी योजनाबद्ध रूपमा आफू सिंहदेवीमा पढ्न आएको उनको भनाइ छ।

यसैगरी, बेलबारीका विपन राउत सिंहदेवीले लामो समयदेखि कक्षा ११ र १२ मा राम्रो नतिजाका साथ विद्यार्थी उत्तीर्ण गराइरहेको बुझेर आफू पनि यसै विद्यालयमा अध्ययनका लागि आएको बताए। गुणस्तरीय शिक्षा र राम्रो शैक्षिक वातावरण आफूले सिंहदेवीमा पाएको उनको भनाइ छ।

यस्तै, बेलबारीकै भाउन्नेकी रिया भण्डारी बाहिर पढ्न जाँदा लामो समय लाग्ने हुँदा सिंहदेवी एकेडेमीलाई नै अध्ययनको गन्तव्य बनाएको बताउँछिन्। स्थानीयस्तरमा सञ्चालित विद्यालयलाई प्राथमिकता दिनुपर्ने विचार र सिंहदेवीको राम्रो नतिजाको इतिहास तथा शिक्षकको मैत्रीपूर्ण व्यवहारले आफूलाई आकर्षित गरेको बताउने भण्डारी एसईई पूरक परीक्षाको तयारीमा रहेका विद्यार्थीलाई पनि परीक्षामा सफल भएपछि यसै विद्यालयमा अध्ययनका लागि आउन सुझाव दिन्छिन्।

व्यवस्थापन सङ्कायमा होटल म्यानेजमेन्ट, बिजनेस स्टडिज र कम्प्युटर साइन्स विषयमध्ये कुनै एक विषय ऐच्छिक रूपमा अध्ययन गर्ने अवसर विद्यार्थीले सिंहदेवी एकेडेमीमा पाउँछन्।

सिंहदेवी एकेडेमीले विद्यार्थीलाई गुणस्तरीय शिक्षा दिने उद्देश्यले दक्ष तथा अनुभवी शिक्षकहरूको समूह परिचालन गरी पठनपाठनलाई प्रभावकारी ढङ्गले सञ्चालन गरेको छ। यहाँका शिक्षकहरू लामो समयदेखि अध्यापनकर्ममै अभ्यस्त रहेका कारण विद्यार्थीले उनीहरूबाट मैत्रीपूर्ण व्यवहारका साथै मार्गदर्शन र सैद्धान्तिक प्रश्नको प्रभावकारी समाधान पाउँछन्।

विद्यार्थीको अन्तर्निहित क्षमता प्रस्फुटन गर्नका लागि एकाडेमीले उनीहरूलाई विभिन्न अतिरिक्त कृयाकलापमा पनि सहभागी गराउँदै आएको छ।

फुटबल, भलिबल, कबड्डी, तेक्वान्दो, क्रिकेट, फुटसल, ब्याड्मिन्टन, टेनिसजस्ता विभिन्न खेलकुद गतिविधिको अभ्यास गर्ने तथा त्यस्ता खेलका प्रतिस्पर्धात्मक प्रतियोगिताहरूमा सहभागी हुने वातावरण सिंहदेवी एकाडेमीले विद्यार्थीलाई दिँदै आएको छ।

सिंहदेवी एकाडेमीमा विद्यार्थीले प्रोजेक्टरजस्ता अत्याधुनिक प्रविधिबाट अन्तरक्रियात्मक ढङ्गले सैद्धान्तिक तथा व्यावहारिक ज्ञान आर्जन गर्ने अवसरि पाउँछन्। यसका साथै, कम्प्युटर ल्याब, किचन ल्याब, पुस्तकालयजस्ता सुविधाको उपलब्धताले उनीहरूको सिकाइ प्रक्रियामा गुणात्मक प्रतिफल दिलाउँछ।

विद्यार्थीलाई समाजका विविध पक्षसँग साक्षात्कार गराउने र विविधतायुक्त भौगोलिक तथा सांस्कृतिक वातावरणबारे जानकारी प्रदान गर्ने उद्देश्यले एकेडेमीले विद्यार्थीलाई सामूहिक रूपमा शैक्षिक भ्रमणमा सहभागी हुने अवसरसमेत सिंहदेवी एकेडेमीले उपलब्ध गराइरहेको छ।

कमजोर आर्थिक पृष्ठभूमिका मेधावी विद्यार्थीलाई कलेजले विभिन्न छात्रवृत्ति प्रदान गरी उनीहरूको शैक्षिक महत्वाकांक्षा पूरा गर्ने यात्रामा सारथीको भूमिकासमेत निर्वाह गरिरहेको छ। कलेजले भर्नाका लागि लिने प्रवेश परीक्षामा सर्वोत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउने गर्दछ। यसैगरी, कक्षामा प्राप्त गर्ने नतिजाका आधारमा उत्कृष्ट विद्यार्थीलाई छात्रवृत्ति दिने तथा गरीब तथा जेहन्दार विद्यार्थीलाई छात्रवृत्ति दिने व्यवस्था विद्यालयले मिलाएको छ। पैसाको अभावका कारण शिक्षाबाट विद्यार्थी बञ्चित हुनुपर्ने अवस्थामा परिवर्तन गर्न छात्रवृत्ति उपलब्ध गराइरहेको एकेडेमी प्रशासनको भनाइ छ। उत्कृष्ट खेल प्र्रदर्शन गर्ने विद्यार्थीलाई एकेडेमीले खेल छात्रवृत्तिसमेत उपलब्ध गराउँदै आएको छ।

विद्यार्थीको आवागमनलाई सहज बनाउन एकेडेमीले बस सञ्चालन गरी विद्यार्थीलाई कलेजसम्म ल्याउने र घर पुर्याउने प्रबन्ध गरिदिएको छ।