भरतपुर महानगरपालिकाले किसानहरूलाई ६६ थान कृषि उपकरण अनुदानमा उपलब्ध गराएको छ।मंगलबार कृषि समूह, फर्म तथा सहकारी संस्थामार्फत किसानलाई उपकरण वितरण गरिएको हो।

महानगरपालिकाले ५० प्रतिशत अनुदानमा २ करोड रुपैयाँका उपकरणहरू वितरण गरको कृषि महाशाखा प्रमुख तेजेन्द्र पौडेलले जानकारी दिए।

महानगरकी मेयर रेनु दाहाल, उपमेयर चित्रसेन अधिकारी तथा प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेलले कृषकलाई उपकरणका चाबी हस्तान्तरण गरेका थिए। 

महानगरले ५० प्रतिशत अनुदानमा ट्रयाक्टर ४ थान, हाते ट्रयाक्टर ६ थान, धान तथा गहुँ काट्ने रिपर १२ थान, थ्रेसर ३ थान, रोटाभेटर २ थान, मकै छोडाउने कर्न सेलर १७ थान, तेरी मिल ३ थान हस्तान्तरण गरेको हो।

यस्तै, मकै रोप्ने मेज प्लान्टर ३ थान, घाँस टुक्राउने च्याफ कटर १२ थान, राइस मिल १ थान, मिल्क एनालाइजर ६ थान, चिलिङ भ्याट २ थान, माछाको दान बनाउने मिशेन १ थान, बलेरो पिकअप २ थान र ३ पाङ्ग्रे अटो २ थान हस्तान्तरण गरिएको थियो।