बेलबारी ः मोरङको बेलबारी नगरपालिका १०, बलुवाही घर भएकी मीना राजवंशीले तीन महिनादेखि हराइरहेकी आफ्नी छोरीको खोजी गरिदिन अपिल गरेकी छन् । आफ्नी अन्दाजी ३०–३२ वर्षीया विवाहिता छोरी रेबिका चौधरी गत वैशाखदेखि हराइरहेको बताउँदै आमा मीनाले खोजीका लागि अपिल गरेकी हुन् । उनका अनुसार माइती आएकी दुई छोरीकी आमा रेबिका आफूसँगै सुतेका दुवै छोरीलाई ओछ्यानमै छोडेर गत वैशाखको एक बिहान झिसमिसेमै घरबाट बेपत्ता भएकोमा हालसम्म उनीसँग सम्पर्क हुन सकेको छैन ।
छोरी हराएकै दिन भाउन्नेस्थित प्रहरी चौकीमा खोजतलासको माग गर्दै जाहेरी दर्ता गराएकोमा हालसम्म प्रहरीले छोरीको अवस्था पत्ता लगाउन नसकेको मीनाको गुनासो छ ।
बेलबारी ९ स्थित नलबारीमा विवाह भएकी रेबिकाका पति वैदेशिक रोजगारीको सिलसिलामा करिब ३ वर्षदेखि साउदी अरबमा रहेको मीना बताउँछिन् । पतिले बाहिर काम गर्न जानबाट रेबिकालाई रोक्ने गरेकोमा रेबिकाले भने पतिको इच्छाविपरीत ज्यामीको काम गर्दै आएकाले सोही विषयमा उनीहरूबीच विवाद हुने गरेको रेबिकाकी आमा मीनाको भनाइ छ ।
उता, बुहारी हराएको जानकारी पाएपछि रेबिकाका ससुराले पनि इलाका प्रहरी कार्यालय बेलबारीमा खोजतलासका लागि जाहेरी दर्ता गराएका थिए ।
प्रहरीमा जाहेरी दर्ता गराएको लामो समय बितिसक्दा पनि छोरीको अवस्थाबारे कुनै जानकारी पाउन नसकिएको भन्दै आमा मीनाले छोरीको खोजीकार्यमा सहयोग गरिदिन सञ्चारकर्मीलगायत सरोकारवालालाई अपिल गरेकी छन् । रेबिकालाई देख्ने वा फेला पार्ने व्यक्तिले ९७०३३६४२७८ नम्बरमा फोन गरी आफूलाई वा नजिकको प्रहरी कार्यालयमा जानकारी गराइदिन उनको अनुरोध छ । यसैगरी, रेबिकाकी छोरी कृतिले पनि आफ्नी आमालाई आफूहरूको सम्पर्कमा आउन अपिल गरेकी छन् ।