बेलबारी ।मोरङको बेलबारी नगरपालिकाअन्तर्गत २ नम्बर वडा कार्यालयले कमिसन नपाएका कारणले सिफारिस नदिएको भनी केही व्यक्तिहरूले लगाएको आरोपको खण्डन गरेको छ । कार्यवाहक वडाध्यक्ष माधवराज निरौला र अन्य जनप्रतिनिधि तथा कर्मचारीमाथि सेवाग्राहीले लगाएको आरोपको कार्यालयले खण्डन गरेको हो । घटनाबारे सत्यतथ्य जानकारी गराउन आज मङ्गलबार पत्रकार सम्मेलन आयोजना गर्दै कार्यवाहक वडाध्यक्ष निरौलाले किर्ते कागजात पेस गरी हजुरआमाको नाममा दर्ता रहेको जग्गा बेच्न खोज्ने नातिलाई सिफारिस दिन आफूले अस्वीकार गरेको प्रष्ट पारेका छन् ।
उनका अनुसार असार १२ गते अपराहन्न ४ः३० बजे स्थानीय ७५ वर्षीया मनमाया लिम्बूनीको नाममा दर्ता रहेको जग्गा बेच्न सिफारिस माग गर्दै जग्गाधनीका नाति मनिष लिम्बू र अर्का एक व्यक्ति आएकोमा जग्गाधनी मनमायाले जग्गा नबेच्ने बताएपछि वडा कार्यालयले सिफारिस दिन अस्वीकार गरेको हो । सिफारिस पाउनका लागि नाति मनिष र उनीसँग आएका व्यक्तिले वडा कार्यालयमा पेस गरेका जग्गाधनी मनमायाको नागरिकताको प्रतिलिपि र जग्गाधनी प्रमाण पुर्जाको प्रतिलिपिसमेत २ नम्बर वडा कार्यालयबाट रितपूर्वक जारी भएको हुनुपर्नेमा त्यस्तो नभई अन्यत्रबाटै निकालिएको पाइएको भन्दै कार्यवाहक वडाध्यक्ष निरौलाले सिफारिस लिने भए बुबासहित आउन नाति मनिषलाई अनुरोध गर्दै हाललाई सिफारिस दिन नसकिने जानकारी गराएको उल्लेख गरे ।
आफूले त्यस्तो बताएपछि जग्गाधनीका नाति मनिषसँग आएका अर्का व्यक्तिले बाबु किन चाहियो ? सिफारिस तुरुन्त दिनुपर्छ भन्दै कर्मचारी तथा जनप्रतिनिधिलाई गालीगलौज गरेको बताउँदै कार्यवाहक वडाध्यक्ष निरौलाले सोको पर्सिपल्ट जग्गाधनी मनमायालाई नलिई नाति मनिषसहित सोही वडाका प्रताप राई, तुलसीप्रसाद ओझा, पुष्कर चापागाईँ र खेम गौतमसहितका व्यक्तिहरू वडा कार्यालयमा आई मनिषबाहेक अन्य व्यक्तिहरूले सिफारिस किन नदिएको भन्दै पुनः विवाद गरेको उल्लेख गरे । यसै क्रममा खेम गौतमले ‘सिफारिस दिएको भए हुने हो तर आन्तरिक कुरा के के छन्’ भन्दै आफूमाथि कमिसन मागेको आरोप लगाएको कार्यवाहक वडाध्यक्ष निरौलाले स्मरण गरे । यसपछि असार १६ गते पुनः जग्गाधनी मनमायालाई नलिई वडा कार्यालयमा पुगेका नाति मनिष र पुष्कर चापागाईँ सहितका व्यक्तिहरूले सिफारिस किन नदिएको भन्दै विवाद गर्न थालेपछि आफूले पुरानै कुरा दोहोर्याएको स्मरण गर्दै कार्यवाहक वडाध्यक्ष निरौलाले जग्गाधनी फर्केरै नआएको अवस्थामा नाति मनिषले पनि आफैँले केही पनि नभनेको तर असम्बन्धित अन्य व्यक्तिहरूले अनर्गल आरोप लगाउँदै जनप्रतिनिधि र कर्मचारीलाई बदनाम गराउने ढङ्गले सामाजिक सञ्जालमा प्रचारबाजी गरिएकोप्रति खेद प्रकट गरे । उनका अनुसार जग्गाधनी मनमायाका नाममा दर्ता रहेको जग्गा बेच्ने सिफारिस नदिन भनी जग्गाधनीका छोरा अर्थात् नाति मनिषका पिता मच्छिन्द्र लिम्बूले वडा कार्यालयमा निवेदनसमेत दर्ता गराएका छन् । गोप्य रूपमा खिचिएको भिडियो बेलबारी २ का प्रताप राईको फेसबुक एकाउन्टमा पहिलो पटक प्रकाशित भई भाइरल भएको बताउँदै कार्यवाहक वडाध्यक्ष निरौलाले कर्मचारी र जनप्रतिनिधिलाई गालीगलौज गर्नेहरूमाथि कारबाही गर्ने सवालमा वडाध्यक्ष कृष्ण गुरुङ र अन्य जनप्रतिनिधि उपस्थित भएपछि निर्णय लिइने प्रष्ट पारे । किर्ते गरिएका कागजातसहितका निवेदन भने पेस गर्नेहरूले नै खोसेर लगेको बताउँदै उनले सो विषयमा पनि दायित्वअनुसार निर्णय लिइने जानकारी दिए ।