इलामको फिक्कल–जोगमाई–नयाँबजार–दुधाङ सडकअन्तर्गत फिक्कल–नयाँबजार सडक खण्डको कालोपत्र भएको छ। सडकको जिरो प्वाइन्ट सूर्योदय नगरपालिका–९ फिक्कलस्थित बरबोटेदेखि गन्तव्य स्थान माइजोगमाई गाउँपालिका–१ नयाँबजारसम्म २० किलोमिटर दुई सय मिटर सडक कालोपत्रे पूरा भएको हो। 

कोशी प्रदेश सरकारको लगानीमा जीर्ण सो सडक कालोपत्रे गरिएको हो। रु ५३ करोड ८९ लाख ३८ हजार एक सय ४९ को लागतमा सडक कालोपत्रे सम्पन्न गरिएको पूर्वाधार विकास कार्यालय भद्रपुर झापाका इञ्जिनियर वीरेन्द्र लामाले बताए।

सडकको अप्ठ्यारो भूभागमा आठ सय मिटर पक्की ढलाइ गरिएको छ। डिबिएसटी (डबल बिटुमिन एस ट्रिटमेन्ट) प्रविधिको कालोपत्र गरिएको हो। सडक कालोपत्रबाहेक किलोमिटर पोष्ट, सेफ्टी बारलगायतको कामसमेत गरिएको छ।