बुटवलको मिलनचोकमा रहेको डेल्टा मार्टमा लागेको आगो झण्डै पाँच घण्टापछि नियन्त्रणमा आएको छ।

आगलागीबाट करोडौँ रकम बराबरको क्षति भएको अनुमान गरिएको छ तर यकिन विवरण नआइनसकेको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक (डिएसपी) विजयराज पण्डितले बताए।

तीन तलाको मार्टको माथिल्लो तलाबाट विहीबार बेलुकी आगलागी सुरु भएको थियो। आगो निभाउन नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र स्थानीय खटिएका थिए।

आगो निभाउनका लागि रुपन्देहीका तिलोत्तमा, सैनामैना, सिद्धार्थ, देवदह, सुनवल नगरपालिका, कपिलवस्तुको शिवराज नगरपालिका र भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट समेत दमकल ल्याइएको थियो।

आगलागीबाट मार्ट पूर्णरुपमा जलेको छ तर वरिपरिका अन्य घरहरुमा भने आगो सल्कनबाट जोगिएको प्रहरीको भनाइ छ।उक्त मार्टमा शैक्षिक सामग्रीसहित जुत्ताचप्पल र नेपालमा उत्पादित कपडालगायतका पसल तथा केही कम्पनीका कार्यालय थिए।