सत्तारुढ नेकपा एमालेले हालसम्म देशका ६३ जिल्ला कमिटीको अधिवशेन गरी नयाँ नेतृत्व चयन गरेको छ। यही जेठभित्र सबै जिल्ला अधिवेशन सम्पन्न गर्न एमाले केन्द्रीय कार्यालयले जिल्लालाई निर्देशन दिएको थियो।

एमालेको केन्द्रीय प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमले इलाममा हालै उपनिर्वाचन सम्पन्न भएकाले अधिवेशन नभएको, तेह्रथुममा आन्तरिक विवाद भई सङ्गठन विभागले अध्ययन गरिरहेको र मोरङमा आयोजक कमिटी भर्खरै गठन गरिएको जानकारी दिए।

शुक्रबार मात्रै रुपन्देही र नुवाकोटको जिल्ला अधिवेशन भएको छ । मधेस प्रदेशको सिरहा, सप्तरी, धनुषाको जिल्ला अधिवेशनको मिति तोक्न बाँकी छ।

गण्डकी प्रदेशको मनाङ, कर्णाली प्रदेशको डोल्पा र सुदूरपश्चिम प्रदेशको अछाम, बझाङ र डोटी जिल्ला अधिवेशनको मिति तोक्न बाँकी रहेको एमालेले जनाएको छ।