नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले संविधान जागाउने हो र टिकाउने हो भने प्रदेशलाई जस्ताको त्यस्तै बोक्न नहुने बताएका छन्।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले कांग्रेस सरकार बनाउने र गिराउने खेलमा नलाग्ने बताएका हुन्।

प्रदेशका साथै निर्वाचन प्रणालीका बारेमा पनि केही संशोधन गर्न आवश्यक रहेको उनको भनाइ छ। ‘‘हाम्रो केही जिम्मेवारी छ। संविधान जोगाउने हो र टिकाउनको निम्ति यो संविधानमा केही कुरा नबदलीकन हुँदैन,’ उनले भने, ‘चाहे हाम्रो प्रदेशको रचनाको कुरा होस्, यसलाई जस्ताको त्यस्तै बोकेर हुँदैन। यसलाई टिकाउन केही कुरामा बदलाब ल्याउनुपर्छ। निर्वाचन प्रणालीका बारेमा पनि केही कुरा परिमार्जन गर्नुपर्नेछ।’साथै उनले २०८४ सालसम्म नेपाली कांग्रेस संघीय संसदभित्र प्रतिपक्षको भूमिकामा रहने बताएका छन्।

यसअघिको चुनावको प्रतिबद्धताअनुसार सरकारमै रहनुपर्ने भएपनि सरकारमा रहेका केही राजनीतिक दलहरुले प्रतिबद्धता बिर्सिंदा कांग्रेस प्रतिपक्षमा पुगेको उनको भनाइ छ।

अर्को प्रशंगमा उनले नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीप्रति लक्षित गर्दै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठमाथि अभद्र टिप्पणी गरेको आरोप लगाए।