मोरङको रंगेली नगरपालिकाका नगररक्षक (नगरप्रहरी) माथि विद्यार्थीको समूहले आक्रमण गरेको छ। आक्रमण गरेको आरोपमा शुक्रबार ६ जना विद्यार्थीलाई मोरङ प्रहरीले पक्राउ गरेको हो।
बिहीबार नगरपालिका पुगेको विद्यार्थीको समूहले नगरपालिका तोडफोड गरेको, नगर प्रहरीमाथि आक्रमण गरेको भन्दै उनीहरूलाई पक्राउ गरिएको मोरङ प्रहरी प्रवक्ता डिएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले जानकारी दिए।
पक्राउ पर्नेमा रंगेली–६ का २३ वर्षीय दीपक यादव, २० वर्षीय राहुल यादव, रुकुम यादव, रंगेली–७ का १८ वर्षीय रमणकुमार राय, रंगेली–८ का १९ वर्षीय विषेक झा र रंगेली–२ का मिलन मिश्र रहेका छन्।पक्राउ परेका उनीहरूविरुद्ध अभद्र व्यवहार मुद्दा चलाइने प्रहरीले बताएको छ।
निजी विद्यालयहरूले मनपरी शुल्क असुलेको विषयमा जेठ १३ गते ज्ञापन पत्र बुझाएको थियो। तर, नगरपालिकाले चासो नदिएको भन्दै नगरपालिका पुगेका विद्यार्थीहरूले त्यहाँ तोडफोड गर्दै नगर प्रहरीमाथि आक्रमण गरेको साथै नगरपालिकाका कार्यवाहक मेयर एवं रंगेली–८ का वडाध्यक्ष ढकप्रसाद आचार्य र प्रमुख प्रशासकीय अधिकृत ओमकारप्रसाद न्यौपानेमाथि दुर्व्यवहार गरेको प्रहरी भनाइ छ। विद्यार्थी समूहको आक्रमणबाट ४ जना नगरप्रहरीहरू घाइते भएका छन्।