राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानबहादुर शाहीले क्रिकेटर सन्दीप लामिछानेलाई अमेरिकाले भिसा नदिनु सिंगो नेपालमाथिको अपमान भएको बताएका छन्। आइतबार प्रतिनिधि सभाको विशेष समयामा बोल्दै सांसद शाहीले जुन देशले विश्वकप क्रिकेटको आयोजना गरेको छ उही देशले भिसा नदिएको विषयमा परराष्ट्र नीति के हो भन्दै प्रश्न गरेका छन्।
उनले भने, ‘पराराष्ट्रनीति पार्टीको पञ्चशीलको आधारमा बनाएको हो कि पार्टीको कार्यकर्ताको घोषणापत्रको आधारमा बनाएको हो ? पञ्चशीलताका आधारमा नेपाल र अमेरिकाको कुटनीतिक सम्बन्ध भएको ७६ वर्ष भएको छ। पञ्चशीलको २ नम्बर बुँदामा आन्तरिक मामिलामा अहस्तक्षेप नीति लिने, पञ्चशीलको सिद्धान्तले कुनैपनि देशको आन्तरिक मामिलामा हस्तक्षेप गर्दैैन, हरेक देशको आफ्नै सार्वभौमिता हुने भएकोले उनीहरु आफ्नो देशको शासन, पद्धति र निर्णय प्रक्रियामा स्वतन्त्र हुन्छन्। यसले देशको आन्तरिक मामिला अहस्तक्षेपको नीति अंगिकार गर्दछ’ भनेको छ।’
उनले उच्च अदालतले निर्दोष भएको फैसला गरेको, क्यान र आइसीसीले स्वीकृत गरेपनि खेलाडीलाई भिसा नदिँदा प्रधानमन्त्री र मन्त्रीलाई झण्डा हल्लाएर हिँड्न लाज लाग्दैन भन्दै प्रश्न गरे। उनले मन्त्रीले स्टन्टबाजी मात्रै गर्ने हो भन्दै प्रश्न पनि गरे। उनले विश्वकप हुँदा आफ्नो खेलाडीलाई भिसा नदिँदा चुप लागेर बस्ने परराष्ट्र मन्त्रालय र खेलकुद मन्त्रालय नचाहिँने बताएका छन्।