बेलबारी : मोरङको बेलबारीस्थित बेलबारी बेलबारी प्रज्ञा प्रतिष्ठानको आयोजनमा बेलबारी बाल कला साहित्य महोत्सव २०८१ सुरु भएको छ।
जेठ १७ गते (आज) देखि १९ गतेसम्म सञ्चालन हुने महोत्सवमा कथा, कविता, गायन, वक्तृत्वकला, चित्रकला, गयान, नृत्यजस्ता सिर्जनात्मक गतिविधिमाथि कार्यशाला तथा छलफल कार्यक्रम हुने आयोजक संस्थाका सचिव कुलप्रसाद बरालले जानकारी दिए।
उनका अनुसार बेलबारी नगरपालिकाको चार लाख ८० हजार रुपियाँ अनुदानमा सञ्चालन हुन लागेको महोत्सवमा बेलबारीका विभिन्न विद्यालयहरूले शैक्षिक तथा सांस्कृतिक महत्वका स्टलका साथै विभिन्न खेलकुद गतिविधि तथा खानाका स्टलसमेत प्रदर्शनीमा राखेका छन्।
444484217_845404640945986_4856630045007380524_nविद्यार्थीमा अन्तर्निहित सिर्जनात्मक क्षमताको प्रवद्र्धनका लागि महोत्सव आयोजना गरिएको र निःशुल्क रूपमा कार्यशालामा सहभागी हुने तथा अवलोकन गर्ने प्रबन्ध मिलाइएको आयोजक संस्थाका कार्यक्रम संयोजक विकास बुढाथोकीले जानकारी दिए।
कार्यक्रमको उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्रमुख अतिथि बेलबारी नगरपालिकाका नगरप्रमुख दिलप्रसाद राईले नगरको प्राज्ञिक उन्नयनका लागि कार्यरत बेलबारी प्रज्ञा प्रतिष्ठानले बालबालिकालाई लक्षित गरी महोत्सव आयोजना गरेकोमा खुसी व्यक्त गर्दै महोत्सव सफलताको शुभकामना दिए। साहित्य, कलाजस्ता रचनात्मक अभ्यासले सभ्यताको स्तर मापन गर्ने बताउँदै उनले सबै तहका विद्यार्थीले अवलोकन गर्ने व्यवस्थाले कला तथा साहित्यको प्रचारप्रसारमा टेवा पुग्न गई यस क्षेत्रमा सर्वसाधारणको रुची बढ्ने विश्वास व्यक्त गरे। कला, साहित्यजस्ता विषय विश्वविद्यालयमा जन्मिएको नभई स्थानीय पाखापखेरामै यसको विकास हुने हुँदा मैदानमा उत्रिएर कलाको अवलोकन गर्न सके त्यहाँबाट तात्विक महत्वको बोध प्राप्त हुने नगरप्रमुख राईले उल्लेख गरे।
445356505_845404464279337_8835897011688229509_nकार्यक्रमका वक्ता तथा अतिथि प्राडा टङ्कप्रसाद न्यौपानेले प्रदेश तहमा नभएको प्रज्ञा प्रतिष्ठान प्रदेशका केही स्थानीय पालिकामा भने स्थापना भएको देख्न पाउनु सुखद भएको बताए। भौतिक विकासले मात्र देशको विकास मापन नहुने बताउँदै उनले कला र वाङ्मय पनि देश विकासको महत्वपूर्ण सूचक रहेको उल्लेख गरे।
कार्यक्रमकी सभापति तथा आयोजक संस्थाकी अध्यक्ष रेखा सुवेदीले बालबालिकालाई वातावरण दिन सके देशका लागि सक्षम जनशक्तिका रूपमा मैदानमा उत्रन सक्नछन् भन्ने तथ्य बोध गरी आफूहरूले महोत्सव आयोजना गरेको बताइन्। महोत्सव अवलोकनबाट बालबालिकाले आफ्नो सिर्जनात्मक सीप तथा रुची प्रवद्र्धन गर्ने मौका पाउने भन्दै उनले महोत्सवमा सहभागिताका लागि सर्वसाधारणमा अपिल गरिन्।
444762235_845404384279345_178846412285448394_nकार्यक्रममा विशिष्ट अतिथिका रूपमा बेलबारी नगरपालिकाकी उपप्रमुख नीतु थापा कोइराला उपस्थित थिइन् भने अन्य अतिथिहरूमा पूर्वसांसद हर्क तामाङ, प्राज्ञ गङ्गा सुवेदी, कवयित्री कुन्ता शर्मा, मूर्तिकार विक्रम श्री, बेलबारीका सबै वडाका वडाध्यक्षहरू, स्थानीय राजनीतिक दलका प्रतिनिधिहरूलगायत सहभागी थिए ।