तिला नदीमा पौडी खेल्ने क्रममा मंगलबार दिउँसो २ बजेदेखि बेपत्ता भएका बालकको शव फेला परेको छ।
गोताखोरको टोलीले शव पत्ता लगाएर नदीबाट निकालेको हो। सशस्त्र प्रहरी बल सुर्खेतबाट कालीकोट आएको गोताखोर टोलीले ३ दिनदेखि नदीमा बेपत्ता तिलागुफा-७ छाप्रेका १४ वर्षीय हिक्मत बमको शव पत्ता लगाएर नदीबाट निकालेको हो।
गोताखोरको टोली बुधबार सुर्खेतबाट आएर बिहीवार विहान घटनास्थल पुगेर खोजी सुरु गरेको थियो। गोताखोरको टोलीले शव पत्ता लगाएर नदीबाट निकालेको प्रमुख जिल्ला अधिकारी गणेश नेपालीले जानकारी दिए।'नदीमा डुबेकै ठाउँमा बालकको शव भेटियो,' उनले भने,'गोताखोर नआएको भए पत्ता लगाउनै कठिन हुने रहेछ।'
उनका अनुसार प्रहरीसहित आफन्तले नदीमा शव खोजी गरे पनि नभेटिएपछि सुर्खेतबाट गोताखेर बोलाइएको थियो। गोताखोर टोलीले बिहीबार विहान ९ बजे नदीबाट शव निकालेर आफन्तलाई बुझाएको प्रमुख जिल्ला अधिकारी नेपालीले बताए।
मंगलबार दिउँसो २ बजे तिलागुफा-६ गाल्जे नजिकैको तिला नदीमा पौडी खेल्ने क्रममा बगेर बेपत्ता भएका बालक स्थानीय सत्यदेवी मावि जुविथामा कक्षा-८ मा अध्ययनरत थिए। उनका बुबा नरेन्द्र बम तिलागुफा-५ छाप्रे गाउँबाट नगरपालिकाको केन्द्र गाल्जेमा आएर होटल ब्यवसाय गर्थे ।