सरकारले कोरोना भाइरसको नयाँ भेरियन्ट देखिएसँगै कोरोनाविरुद्धको थप खोप ल्याउने भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसविरुद्धको खोप ल्याउने भएको हो।अहिले नयाँ भेरियन्ट ‘केपी १’ ‘केपी २’ ‘केपी ३’ र ‘केपी ४’ देखिएसँगै थप खोप ल्याउन लागिएको हो। 

स्वास्थ्य सेवा विभागका बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा अभियान गौतमले कोरोना भाइरसविरुद्धको १६ लाख मात्रा खोप ल्याउन लागिएको जानकारी दिए। “कोरोनाविरुद्ध खोप नियमित दिइरहेका छौँ। अहिले रहेको खोपको मौज्दात पनि सकिन थालेको छ”, उनले भने, “महामारी भइसकेपछि पनि सधैँ तयारी अवस्थामा बस्नुपर्ने हुन्छ। अहिले नयाँ भेरियन्ट पनि देखिएको छ। त्यसैले खोप ल्याउन थालेका हौँ।”

अहिले स्वास्थ्य विभागसँगै एक लाख मात्रा मात्र खोप मौज्दात रहेको छ। ६-६ महिनामा कोरोना भाइरसको नयाँ भेरियन्ट पनि देखिएको र खोप ल्याउने पहिलेको तयारी रहेको छ। उनका अनुसार ग्लोबल एलाएन्स फर व्याक्सिन एण्ड इमुनाइजेसन (गाभी) ले फाइजरको ‘मनोभ्यालेन्ट’ खोप अनुदानमा उपलब्ध गराउन लागेको हो।